News प्रदेश ७

 त्यस्तो गाउँ, जहाँ चोरी नै हुँदैन !

 त्यस्तो गाउँ, जहाँ चोरी नै हुँदैन !

बझाङ । गाउँभरिका घरमा कहिल्यै ताल्चा लगाउन पर्दैन । मूल्यवान सामानहरू बाहिरै असरल्ल हुन्छन्, हराउँदैन । वर्षभरि उब्जाइएका अन्नपात खलोमै राखिन्छ ।

 

कुन घरको सामान कहाँ राखिएको छ, सबैलाई थाहा हुन्छ । कसैले कसैको सम्पत्तिमाआँखा लगाउँदैनन् ।

 


साइपाल गाउँपालिकाका पाँचवटै वडामा कहिल्यै चोरी भएको छैन । उच्च हिमाली भूभागमा पर्ने यस गाउँपालिकामा गहुँ, जौ, उवा, फापर, कोदोलगायत अन्न प्रशस्त फल्छ ।

 

 

३-४ परिवार मिलेर एउटै खलो प्रयोग गर्छन् । स्थानीय भाषामा भाड भनिने खलो घरभन्दा केही टाढा बनाइएको हुन्छ ।

 

 

खरको छाप्रो हालेर बनाइएको खलोको बीचमा अन्नपात चुट्नका लागि सम्म परेको ठाउँ हुन्छ । वरिपरि ढुंगाको पर्खाल लगाएर भकारी राख्ने ठाउँबनाइएको हुन्छ । तीन–चार परिवारले आ–आफ्नो पर्खालमा लहरै भकारी राख्छन् ।

 

 

वर्षाबाट जोगाउन खरको छानो बनाइए पनि खलो चारैतिर खुलै हुन्छ । ‘खलोमा ४०-५० क्विन्टलसम्म अन्न हुन्छ,’ चुकझाडका बम्म बोहराले भने, ‘सबै अन्न बाहिरै हुन्छ, चोरी भएको थाहा छैन ।’

 

 

धलौनकी उजली धामीलेअन्नपात सबै खलोमै छोड्ने गरेको बताइन् । हामी कुनै पनि अन्न खलोबाट घरमा ल्याउँदैनौं,’ भनिन्, ‘त्यहीं चुट्छौं । खलोमै भकारीमा थन्क्याउँछौं । चाहिएका बेला आवश्यकताअनुसार त्यहींबाट झिक्छौं ।’

 

 

धलौन, काँडा, चुकझाड, लासी, धुली, न्युना, बलौडी, जिमालगायत गाउँका बासिन्दा आफूलाई लाँगा देवताको करिया ठान्छन् ।

 

 

धुलीका मानिस त लाँगाकै सन्तान भएको विश्वास गर्छन् । कसैले चोरी गरे लाँगा देवता रिसाएर कुलमा अनिष्ट हुने विश्वासका कारण यहाँ चोरी नहुने धलौनका बिरु धामीले बताए ।

 

 

उनले भने, ‘चोरी खानेलाई देउताले सहँदैनन् ।’ आर्थिक अवस्था कमजोर भएकालाई हुनेखानेले सजिलै ऋणधन दिने गरेको उनले बताए । ‘हुनेले नहुनेलाई सहयोग नगरे पनि देउताले राम्रो मान्दैनन्,’ उनले भने ।

 

 

आलुचोतो (एक प्रकारको हिमाली मूला) लगायत तरकारी पनि खेतमै खाल्डो खनेर भण्डारण गरिन्छ । ‘यहाँका मान्छेका लागि चोरी खानु र मर्नु एउटै हो,’ काँडाका मानबहादुर बोहराले भने, ‘५२ वर्ष लागें, अहिलेसम्म कसैले कसैको चोरी गरेको सुनेको छैन ।’

 

 

चोरीका घटना नभएको देखेर प्रहरी अचम्ममा पर्छन् । झन्डै १८ महिना धुली प्रहरी चौकीमा काम गर्दा एउटा पनि चोरीको उजुरी नपरेको प्रहरी सहायक निरीक्षक आनसिंह धामीले बताए ।

 

 

‘यहाँको समाज देखेर हामी अचम्ममा परेका छौं,’ उनले भने, ‘अन्नपात मात्र हैन, बाहिरै छाडिएका धनसम्पत्ति पनि चोरी हुँदैन ।’ कान्तिपुर दैनिकबाट 

विशेष