News

क्रिष्चियनहरुको कार्यक्रममा सरकार सहआयोजक आपत्तिजनकः कावा अध्यक्ष चौरडिया

क्रिष्चियनहरुको कार्यक्रममा सरकार सहआयोजक आपत्तिजनकः कावा अध्यक्ष चौरडिया

काठमाडौं । काठमाडौंमा हुन लागेको एसिया प्यासिफिक समिटलाई क्रिष्चियन धर्मप्रचारकहरुको सम्मेलनको संज्ञा दिँदै विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियले आपत्ति जनाएको छ । 

 

महासंघका कार्यवाहक अध्यक्ष प्रमोदकुमार चौरडियाले शनिबार एक विज्ञप्ति जारी गर्दै समिटको सहआयोजक नेपाल सरकार नै हुनु आपत्तिजनक भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘मुलुकमा बढ्दै गएको धर्मान्तरणलाई रोक्नुको सट्टा आर्थिक प्रभावमा परी आफ्नो धर्म संस्कृति, प्रथा, परम्परा र आपसी सामाजिक धार्मिक सद्भावमा खलल पुग्ने गरी क्रिश्चियन धर्मको प्रचार गर्ने उद्देश्य लिएको संस्था युनाइटेड पिस फेडेरेसनले आयोजना गर्ने कार्यक्रममा नेपाल सरकार र मलुकका जिम्मेवार व्यक्तिहरु नै सक्रिय रहेकोले संसारभरका ओमकार परिवार हिन्दु धर्मावलम्वीको आस्थामा ठूलो चोट पुगेको छ ।’ 

 

हिन्दुहरुका महत्वपूर्ण चाडपर्वमा दिइँदै आएको सार्वजनिक बिदाहरु कटौती  गर्ने, हिन्दुहरुका सर्वोच्च गुरुहरुको आगमन हुँदा आर्थिक सामाजिक सहयोग नगर्ने तर क्रिष्चियनहरुको कार्यक्रममा आफै सहआयोजक बन्ने सरकारको कदम आलोच्य रहेको महासंघले ठहर गरेको छ । 

 

सरकारले धर्मनिरपेक्षताको अर्थ वैदिक सनातन हिन्दु धर्मको विरोध, इसाई धर्मसँग एकाकार हुन गएको प्रष्ट देखिन्छ– विज्ञप्तिमा उल्लेख छ ।  कार्यक्रमको आयोजक संस्था युनाइटेड पिस फेडेरेसन नेपालमा क्रिष्चियन धर्म प्रचारमा क्रियाशील संस्था भएको दावी गरिएको छ । ९४ प्रतिशत ओमकार हिन्दु धर्मावलम्वीहरुको छाता संगठन हुनुको नाताले पनि यस्तो सम्मेलन नेपालमा हुनु आपत्तिजनक रहेको उल्लेख गरिएको छ ।

विशेष