News

बैंकद्वारा भूकम्पपीडित २ अर्बको कर्जा उपलब्ध 

बैंकद्वारा भूकम्पपीडित २ अर्बको कर्जा उपलब्ध 

काठमाडौं ।  बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितलाई दुई अर्ब १७ करोड रुपैयाँ बराबरको कर्जा उपलब्ध गराएका छन् । 

 

पीडितलाई बढीमा दुई प्रतिशत ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न सरकारले दिएको निर्देशनअनुसार उक्त परिमाणको लगानी भएको हो ।

 

नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको चालू आर्थिक वर्षको तीन महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा त्यस्तो कर्जा लिनेको संख्या एक हजार २७४ रहेको उल्लेख गरिएको छ । 

 

बैंक तथा वित्तीय संस्थालाई शून्य ब्याजदरमा पुनःकर्जा सुविधा उपलब्ध गराउने व्यवस्थाअन्तर्गत गत असोज मसान्तसम्ममा रु दुई अर्ब १७ करोड ऋण दिइएको हो ।

 

यस्तै, सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपक्षी व्यवसाय कर्जा लिनेको सङ्ख्या नौ हजार ५६३ जना रहेको छ ।

 

सो योजनाअन्तर्गत रु १४ अर्ब १२ करोड कर्जा बक्यौता रहेको छ भने रु ६७ करोड ९२ लाख ब्याज अनुदान प्रदान गरिएको छ । 

 

पुर्नकर्जा उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुर्नकर्जाको उपयोग समीक्षा अवधिमा बढेको बैंकले जनाएको छ । गत असोज मसान्तसम्ममा बैंकको रु १८ अर्ब पाँच करोड पुर्नकर्जा लगानी भएको छ । 


यस्तै अन्तर–बैंक कारोबार आर्थिक वर्ष २०७५÷७६ को तीन महीनामा वाणिज्य बैंकले रु तीन खर्ब ३६ अर्ब ८७ करोड र अन्य वित्तीय संस्थाले रु ३२ अर्ब ४४ करोडको अन्तर–बैंक कारोवार गरेका छन् । 

 

अघिल्लो आवको सोही अवधिमा वाणिज्य बैंकले रु दुई खर्ब दुई अर्ब ४० करोड बराबरको कारोवार गरेको थियो ।

 

यस्तै ९१ दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर १ दशमलव १८ प्रतिशत रहेकामा गत असोज मसान्तमा १ दशमलव ७७ प्रतिशत पुगेको छ ।

 

वाणिज्य बैंकबीचको अन्तर–बैंक कारोवारको भारित औसत ब्याजदर चालू आवमा १ दशमलव ८६ प्रतिशत पुगेको छ ।

 

यस्तै गत असोज मसान्तसम्म १६४ बैंक तथा वित्तीय संस्था गाभिने प्रक्रियामा सामेल भएका छन् । तीमध्ये १२२ संस्थाको इजाजत खारेज भई ४२ संस्था कायम छन् । 

भूकम्पपीडित कर्जा उपलब्ध 

विशेष