News

आइजिपी खनाल भन्छन्, ‘शिर ठाडो हुने गरी काम गर्छु’

आइजिपी खनाल भन्छन्, ‘शिर ठाडो हुने गरी काम गर्छु’

दमौली । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तनहुँवासीको शिर ठाडो हुने गरी आफूले काम गर्ने बताएका छन्।

 

आफ्नो जन्मगाउँ तनहुँको भानु नगरपालिका–६ टुहुरे पसलमा आइतवार आयोजित स्वागत कार्यक्रममा महानिरीक्षक खनालले तनहुँ आफ्नो जन्म जिल्ला भएका कारण यहाँको हरेक समस्या समाधान र सुरक्षामा आफ्नो ध्यान केन्द्रित रहने बताए। 

 

महानिरीक्षक खनालले प्रहरी र समुदायबीचको सम्बन्ध सुमधुर बनाउन समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुरु गरिएको र अभियान सार्थक बनाउन स्थानीयवासीको साथ र सहयोग आवश्यकपर्ने बताए। 

 

सो अवसरमा स्थानीयवासी कृष्ण ढकालले आफ्नै ठाउँको मान्छे प्रहरीको उच्च सङ्गठनमा पुग्दा खुशी लागेको बताए ।

 

स्थानीय रनबहादुर श्रेष्ठ, तीलक खत्रीलगायतले उच्च ओहोदामा पुगेर तनहुँको नाम राख्न सकेकामा प्रहरी महानिरीक्षकलाई बधाई ज्ञापन गरेका थिए। प्रहरी महानिरीक्षक खनालले इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे र प्रहरी चौकी टुहुरे पसलकोसमेत निरीक्षण गरेका छन्। 

 

यसबीच महानिरीक्षक खनालले समाजमा हुने अपराध र अपराधीको नेपाल प्रहरीले दोलो काढेर छाड्ने बताए ।

 

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँले दमौलीमा आयोजना गरेको तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको दशौँ दिन महानिरीक्षक खनालले भने, ‘एकरदुई ठाउँमा घटना भयो भन्दैमा प्रहरी अत्तालिनु हुँदैन।’

 

उनले नागरिकको रक्षामा खटिएका ७५ हजार नेपाल प्रहरी सदैव कर्तव्यनिष्ट र असल प्रहरी बनेर शान्तिसुरक्षामा अहोरात्र खट्न समग्र प्रहरी संगठनलाई आग्रह गरे। 

आइजिपी खनाल तनहुँ

विशेष