News

प्रचण्डबारे झुटो समाचार लेखेको आरोपमा पत्रकार पक्राउ

प्रचण्डबारे झुटो समाचार लेखेको आरोपमा पत्रकार पक्राउ

काठमाडौं ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे अफवाह फैल्याएको भन्दै प्रहरीले एकजना पत्रकारलाई पक्राउ गरेको छ । 


 

प्रचण्ड चितवन गएका बेला उनीमाथि खुकुरीले आक्रमण भएको झुटो समाचार लेखेको अभियोमा प्रहरीले पोस्ट्पाटी डटकमका सम्पदाक गोपाल चन्दलाई पक्राउ गरेको हो ।  


 

चन्दलाई मंगलबार काठमाडौँको तारकेश्वर नगरपालिकास्थित मनमैजूबाट पक्राउ गरि हिरासतमा लिइएको अपराध महाशाखाका सूचना अधिकृत एसपी नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए । रोल्पाको गंगादेव गाउँपालिका-३ भएका चन्द हाल भक्तपुरको सानोठिमीमा बस्दै आएका थिए । चन्द नेत्रविक्रम चन्द विप्लव निकट क्रान्तिकारी पत्रकार संगठननिकट पत्रकार हुन् । 


 

चन्द सम्पादक रहेको पोस्ट्पाटी डटकमले गत मंसिर ६ गते प्रचण्डमाथि चितवनको कृष्ण चोकमा "स्थानीयले खुकुरी प्रहारको प्रयास" शीर्षकको भ्रमपूर्ण र झुटो समाचार लेखेको अभियोगमा उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ । 

 

यसैबीच उनलाई पक्राउ गरेकोमा आपत्ति जनाउँदै क्रान्तिकारी पत्रकार संगठनले म‌ंगलबारै विज्ञप्ति निकालेको छ । संगठनका महासचिव हिम विष्टले समाचारको विषयमा आपत्ति भए प्रेस काउन्सिलमार्फत् कानुनी उपचार खोज्ने विकल्प हुँदाहुँदै पूर्वाग्राही बनेर चन्दलाई पक्राउ गरिएको जनाएका छन् । 

  

विशेष