निर्मला पन्तको विषय उठाउन नसकेको भन्दै विवेकशील साझाले माग्यो माफी, न्याय नपाएसम्म पीडितको पक्षमा उभिन्छौं

निर्मला पन्तको विषय उठाउन नसकेको भन्दै विवेकशील साझाले माग्यो माफी,  न्याय नपाएसम्म पीडितको पक्षमा उभिन्छौं

काठमाडौं । विवेकशील साझा पार्टीले निर्मला पन्त हत्याको विषय प्रभावकारी ढंगले उठाउन नसकेकोमा माफी मागेको छ । मंगलबार विज्ञप्ति जारी गरी उक्त पार्टीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा दोषीलाई कारबाहीको माग प्रभावकारी ढंगले उठाउन नसकेकोमा क्षमा मागेको हो ।

 

 

 

 

‘यस विषय तथा यस्ता अन्य विषयहरुलाई विवेकशील साझा पार्टीले अझ प्रभावकारी ढंगले उठाउन नसकेकोमा क्षमायाचना गर्दै आगामी दिनमा हामी स्व. निर्मला पन्त लगायत समस्त पीडितहरुले न्याय नपाएसम्म दृढतापुर्वक पिडितहरुको पक्षमा उभिने प्रतिबद्धता जनाउँछौं’ प्रवक्ता रमेश पौड्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

 

विवेकशील साझाले उक्त घटनाको अनुसन्धान प्रगतिको बारेमा एक वा दुई हप्तामा नियमित रुपमा सार्वजनिक गराउन पनि माग गरेको छ । ‘अनुसन्धानलाई नकारात्मक असर नपर्ने गरी नियमित रूपमा (हप्ता-दुई हप्तामा) अनुसन्धानको बारेमा सम्बन्धित निकायबाट सार्वजनिक रूपमा आम नागरिकको पहुँच हुने गरी जानकारी गराउन पनि प्रहरीको काममा जनविश्वास जगाउनको लागि अति आवश्यक रहेको देखिन्छ’ विज्ञप्तिमा भनिएको छ ।

 

 

प्रेस विज्ञप्ति

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार तथा हत्याको सम्बन्धमा विवेकशील साझा पार्टीको धारणा

कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिकाकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको ४ महिना बितिसक्दा पनि सरकारले उनको बलात्कारी तथा हत्यारा(हरु) पत्ता लगाउन नसक्नु एकदमै खेदजनक स्थिति हो । यस घटनामा सुरुदेखि नै सरकारी निकाय, त्यसमा पनि नेपाल प्रहरीको भूमिका अपरिपक्व एवं विवादास्पद रहेकोमा पनि सरकारले अहिलेसम्म त्यसलाई सुधार गर्नको लागि आवश्यक कदम नचालेकोमा हामी स्तब्ध भएका छौं। यसै सन्दर्भमा प्रधानमन्त्रीले ‘निर्मला प्रकरणमा दोषी पक्रन बाह्र बर्ष लाग्नसक्ने' बताएको र गृहमन्त्रीले ‘पुँजीवादका कारण बलात्कार बढेको’ उल्लेख गरेर आफ्नो अकर्मण्यतालाई छताछुल्ल पारेका छन्। यस्ता गैह्रजिम्मेवार अभिव्यक्तिले प्रधानमन्त्री र गृहमन्त्रीको कुर्सीमा क्रमशः केपी शर्मा ओली र रामबहादुर थापा ‘बादल' रहुन्जेल यो बर्बर एवं जघन्य घटनाको पटाक्षेप हुन नसक्ने हो कि भन्ने आशंकालाई बल पुगेको छ।

हाल आएर निर्मला पन्तको बुबा यज्ञराज पन्तको मानसिक अवस्था विक्षिप्त भएको जस्तो देखिने भीडियोहरु सार्वजनिक भएका छन् । उहाँ तथा उहाँको परिवारको स्वास्थ्य तथा सुरक्षाप्रति संवेदनशील भई उहाँहरुलाई काठमाडौँ ल्याउने प्रयास गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं । उहाँहरुको स्वास्थ्य तथा सुरक्षाको लागि आवश्यक प्रबन्ध सरकारले मिलाओस् भन्ने जोडदार माग गर्दछौं । साथै कञ्चनपुर लगायत अन्य क्षेत्रका नागरिकहरुले सरकारलाई दबाब दिने अभियानमा निर्मलाका परिवारका सदस्यहरुलाई उहाँहरुको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै संलग्न नगराउनु हुन हामी हार्दिक अनुरोध गर्दछौं ।

साथै प्रमाण नष्ट गर्न संलग्न अधिकृत तथा विभिन्न दर्जाका प्रहरीहरुमध्ये केहीलाई बर्खास्त गरेको तथा बाँकीलाई विभागीय कारवाही गरेर मात्रै सरकारको कर्तव्य पूरा हुँदैन । निजहरुलाई मुलुकी ऐनको व्यवस्था बमोजिम प्रमाण नष्ट गरेको अभियोगमा तत्काल मुद्दा दायर गर्नको लागि हामी जोडदार माग गर्दछौं ।

यस घटनाको पारदर्शिताको बारेमा देहायअनुसार कदम चाल्न हामी सम्बन्धित सबैमा आग्रह गर्दछौं।-

१) यस घटना तथा यस्ता घटनाहरूमा प्रहरीले पारदर्शिताको मूल्य मान्यतालाई अबलम्बन गर्नु तथा आम नागरिकले विश्वास गर्न सक्ने प्रक्रिया अपनाउनु एकदमै जरुरी रहेको छ । यस घटनामा पारदर्शी रूपमा काम नगरेकोले निर्मलाको शरीरबाट लिइएको नमूना तथा त्यसलाई शंकास्पद व्यक्तिको डीएनएसँग परीक्षण गरिएको कामको प्रामाणिकताको विषयमा पनि प्रश्न उठ्नु खेदजनक छ । यी कामहरूमा निष्पक्ष रूपमा अनुसन्धान भएको देखाउन आवश्यक परे प्रहरीसँग असम्बन्धित तेस्रो पक्षको प्रयोगशालामा जाँच गर्नुपर्छ ।

२) साथै अनुसन्धानलाई नकारात्मक असर नपर्ने गरी नियमित रूपमा (हप्ता-दुई हप्तामा) अनुसन्धानको बारेमा सम्बन्धित निकायबाट सार्वजनिक रूपमा अाम नागरिकको पहुँच हुने गरि जानकारी गराउन पनि प्रहरीको काममा जनविश्वास जगाउनको लागि अति आवश्यक रहेको देखिन्छ र स्वयं प्रहरीकै मनोबल बढाउन पनि यस्तो कार्य जरुरी छ।

यस विषय तथा यस्ता अन्य विषयहरुलाई विवेकशील साझा पार्टीले अझ प्रभावकारी ढंगले उठाउन नसकेकोमा क्षमायाचना गर्दै आगामी दिनमा हामी स्व. निर्मला पन्त लगायत समस्त पीडितहरुले न्याय नपाएसम्म दृढतापुर्वक पिडितहरुको पक्षमा उभिने प्रतिबद्धता जनाउँछौँ ।

रमेश पौड्याल
प्रवक्ता
विवेकशील साझा पार्टी

संम्बधित खबर

विशेष