News

सबै श्रमिकलाई अब पेन्सन

सबै श्रमिकलाई अब पेन्सन

काठमाडौं । निजी क्षेत्रमा कार्यरत श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरण (पेन्सन) को व्यवस्थासहित सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको छ । 

 

 

यसको औपचारिक सुरुवात सरकारले मंगलबारदेखि गर्दै छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरेको सामाजिक सुरक्षा कोषबाट वृद्ध अवस्था, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना कार्यक्रम सुरु गरेको हो ।

 

 

‘निजी क्षेत्रका कम्तीमा ३५ लाख श्रमिकको सामाजिक सुुरक्षा ग्यारेन्टी गर्न कार्यक्रम लागू गरिएको हो,’ श्रममन्त्री गोकर्ण विष्टले भने, ‘श्रमजीवी वर्ग नयाँ युगमा प्रवेश गर्नेछ ।’

 


सामाजिक सुरक्षा कोषबाट आजीवन पेन्सनलगायत सुविधा पाउन श्रमिक र तिनको रोजगारदाता कम्पनीले कोषमा जागिर अवधिभर निश्चित रकम योगदान गर्नुपर्नेछ । 

 

 

कोषमा झन्डै १९ अर्ब ३३ करोड रुपैयाँ जम्मा भइसकेको छ । अर्थ मन्त्रालयले सामाजिक सुरक्षाका लागि निजी र सार्वजनिक क्षेत्रका सम्पूर्ण कामदारको मासिक तलबबाट एक प्रतिशत रकम कोषमा जम्मागर्दै आएको छ ।

 

 

श्रमसचिव महेशप्रसाद दाहालका अनुसार कोषमा प्रतिमहिना डेढ अर्ब थपिँदै जानेछ । ‘यो सबभन्दा ठूलो कोष हुनेछ । सञ्चयकोषमा योगदान गर्ने ६ लाख छन् । 

 

 

यसमा एकै पटक ३५ लाखको योगदान हुनेछ,’ उनले भने, ‘तत्काल उद्योगप्रतिष्ठानमा कार्यरत श्रमिकले कोषमा नियमित रूपमा तलबबाट निश्चित रकम जम्मा गरी सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुन पाउनेछन् । अनौपचारिक क्षेत्रलाई बिस्तारै समेट्दै लैजाने योजना छ ।’ 

 

 

वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत कोषमा योगदान गर्ने श्रमिकले ६० वर्ष कटेपछि निवृत्तिभरण (पेन्सन) वा एकमुष्ट रकम बुझ्न पाउने व्यवस्था गरिएको छ ।

 

 

‘१५ वर्ष निरन्तर योगदान गरेका श्रमिकले यस्तो सुविधा पाउनेछन् । त्यसका लागि एउटै रोजगारदातासँग श्रम गर्नु पर्दैन,’ श्रमसचिव दाहालले भने ।

 

 

कोषमा रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको १० प्रतिशत सञ्चयकोषबापत र ८.३३ प्रतिशत उपदानबापत समेत गरी जम्मा १८.३३ प्रतिशत रकम र श्रमिकले सञ्चयकोषबापत गर्ने १० प्रतिशत योगदान गरी जम्मा २८.३३ प्रतिशत रकमबाट वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिनेछ ।

 

 

योगदानकर्ताले श्रम नियमावलीबमोजिम २०७४ भदौ १९ अगाडिको उपदानबापत प्राप्त गर्ने रकम रोजगारदाताबाट भुक्तानी लिई त्यसभन्दा पछाडिको उपदान रकम मात्र यस योजनाका लागि पठाउनुपर्नेछ ।

 

 

२०७६ साउन १ गतेपछि कार्यरत श्रमिकले यो सुविधा पाउनेछन् । ‘हाल सञ्चयकोष र उपदान प्राप्त गरिरहेका श्रमिकहरूले चाहेमा वा यस योजनामा सहभागी हुने भनी उनीहरूका प्रतिष्ठानमा सामूहिक सम्झौता भएको अवस्थामा समावेश हुन्छ,’ उनले भने ।

 

 

योगदानकर्ताको अवकाश उमेर पूरा भएपछि कोषमा जम्मा गरेको रकम (रोजगारदाताका तर्फबाट भएको योगदानसमेत) र उक्त रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगलाई १८० महिना (१५ वर्ष) ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजले जीवनकालभर निवृत्तिभरण पाउने दाहालले बताए ।

 

 

योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा हकवालालाई कोषमा गरेको योगदान, रोजगारदाताको तर्फबाट भएको योगदान र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ट रूपमा प्रदान गरिनेछ ।

 

 

अवकाश सुविधा लिने योगदानकर्ताले कोषमा जम्मा गरिएको सञ्चयकोष र उपदानबापतको योगदान रकम, रोजगारदाताको तर्फबाट गरेको योगदान र त्यसमा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने रकम निज अवकाश हुँदाका बखत एकमुष्ट भुक्तानी पाउने सुविधा रहेको सचिव दाहालले बताए । कान्तिपुर दैनिकबाट 

निवृत्तिभरण श्रमिक

विशेष