News

मापसे गरी सवारी चलाउने महिलाको संख्या बढ्यो

मापसे गरी सवारी चलाउने महिलाको संख्या बढ्यो

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको संख्या बढ्दै गएको छ । 

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४÷७५ को तुलनामा चालु आवमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको संख्या बढेको पाइएको छ ।

 

आर्थिक वर्षमा २०७४÷७५ मा ३२६ महिलाले मापसे सम्बन्धी चेतनामूलक कक्षा लिएका थिए ।

 

चालू आर्थिक वर्षको आवको चार महीनामा मापसे गरी सवारीसाधन चलाएका ३४१ महिलाले सो कक्षा लिइसकेको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए । 

 

‘पछिल्लो समय मापसे गरेर सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइयो’ उनले भने, ‘महीलामा मापसे गरी सवारीसाधन चलाए पनि प्रहरीले जाँच गर्दैन भन्ने मानसिकता रहेको पाइयो ।’

 

लेन अनुशासनतर्फ आव २०७४÷७५ मा तीन हजार २५२ महिलाले चेतनामूलक कक्षा लिएका छन् भने चालू आवको चार महिनामा ७५२ महीलाले सो कक्षा लिएका छन् । 

 

आव २०७४÷७५ मा सवारी दुर्घटना गराउने २० महिलाले कक्षा लिएका थिए भने चालू आवको चार महिनामा सो कक्षा लिने महीलाको संख्या दुई रहेको महाशाखाले जनाएको छ ।

 

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने काठमाडौं उपत्यकामा मात्र झण्डै आठ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् । 

मादक पदार्थ सेवन

विशेष