निर्मलाकी दिदी–बहिनीकाे पिडाः ‘स्कुल जान्छौं, पढ्न सक्दैनौं’
कञ्चनपुर । आमाबुबा ४ महिनादेखि न्याय माग्दै हिँडेका छन् । खानेपिउने ठेगान छैन । कहिले नाराजुलुस त कहिले धर्ना ।
अहिले उपचारमा काठमाडौं गएका छन् । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दिदी मनीषा र बहिनी सरस्वती जेजस्तो समस्या आइपरे पनि स्कुल जान छाडेका छैनन् ।
आफैं खाना बनाउँछन्, खान्छन् र स्कुल जान्छन् । स्कुल नियमित गए पनि मन लगाएर पढ्न सक्दैनन् । निर्मलालाई नै सम्झिरहन्छन् ।
‘स्कुल होस् वा घर, जताततै निर्मलाकै चर्चा हुन्छ,’ मनीषाले भनिन्, ‘पढाइमा मनै लाग्दैन, उसकै कुरा मात्र मनमा खेलिरहन्छ ।’
उनलाई आफू पढ्ने मात्रै होइन, बहिनी सरस्वतीको रेखदेख, घरका अन्य काम र खाना बनाउने जिम्मेवारीसमेत थपिएको छ ।
साउन १० मा घटना हुँदा स्कुलमा बर्खे बिदा थियो । साउन १८ देखि खुल्यो । महिना दिनसम्म पढाइ हुन सकेन । विद्यार्थी र शिक्षकबीच निर्मलाकै मात्र कुरा हुन्थ्यो ।
अनुसन्धान गर्न प्रहरी जाने, शिक्षकदेखि विद्यार्थीसम्मलाई सोधपुछमा ल्याउने गर्दा विद्यार्थीमा त्रास बढ्यो । बिस्तारै स्कुलमा पढाइ हुन थाल्यो । हत्यारा पत्ता लगाउन माग गर्दै चर्केको आन्दोलनले फेरि बन्द भयो ।
घटना भएको सोमबार ४ महिना बित्यो तर अहिलेसम्म बलात्कार र हत्या गर्ने व्यक्तिलाई सरकारले पत्ता लगाउन सकेको छैन ।
‘पढ्न बस्यो, झलझली बहिनीको यादले सताउँछ,’ मनीषाले भनिन्, ‘अहिले बाबाको स्वास्थ्य बिग्रेपछि झन् चिन्ता थपियो ।’
मनीषा पढाइमा अब्बल छिन् । कक्षामा सधैं पहिलोदोस्रो । अनुशासित विद्यार्थी र अतिरिक्त क्रियाकलापमा सक्रिय छात्राका रूपमा पनि उनको परिचय बनेको छ ।
यो वर्ष एसईई परीक्षा दिँदै छिन् । ‘राम्रोसँग पढ्न पाएकी छैन, परीक्षाको कुरा आउँदा मनमा कताकता डर लाग्न थालेको छ,’ उनले भनिन्, ‘अपराधी पत्ता लागे, आन्दोलन सकिए, हाम्रो परिवारमाथि न्याय भए, पढाइमा ध्यान जान्थ्यो कि ।’ ११ वर्षीया सरस्वती पढाइमा मध्यम छिन् ।
७ कक्षामा पढ्ने उनी अचेल घर बसेर किताब पल्टाउनै सक्दिनन् । आमासँगै बस्नेरसुत्ने उनी आमा आन्दोलनमा जान थालेपछि निराश छिन् ।
बुबाको उपचारका लागि आमा पनि काठमाडौं गएपछि झनै एक्लो महसुस भएको उनले बताइन् । निर्मला घटनापछि स्कुलमा समेत राम्रो पढाइ हुन नसकेको सरस्वती मावि उल्टाखामका प्रधानाध्यापक जगन्नाथ पाण्डेयले बताए ।
घटनाले छात्रामा त्रास छाएको छ । ‘अपराधी पत्ता नलाग्दा घटना दोहोरिन्छ कि भन्ने डर देखिन्छ,’ उनले भने ।
निर्मलाका बुबा यज्ञराज महेन्द्रनगर बजारमा पानीपुरी बेच्थे । आमा दुर्गादेवी सीमावर्ती बजार वनवासाबाट सामान ओसार्थिन् र घरमै चटपटे बिक्री गर्थिन् ।
चटपटे बेचेर दुर्गादेवीले छोरीहरूको पढाइ र पालनपोषण गरेकी थिइन् । यज्ञराज कान्छी श्रीमतीसँगै अलग बसे पनि खाद्यान्नसँगै छोरीहरूका लागि चाहिने सामान किनेर पठाउँथे ।
घटनापछि न पानीपुरीको काम भयो, न चटपटेको । छोरीको हत्यारा पत्ता लगाउन माग गर्दै कहिले काठमाडौं त कहिले महेन्द्रनगर धाउनमै ४ महिना बितिसक्यो । कान्तिपुर दैनिकबाट
निर्मला पन्त