काष्ठमण्डप पुनःनिर्माण गर्न टिम्बरले काठ उपलब्ध गराउने
काठमाडौं । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको काष्ठमण्डप पुनःनिर्माणका लागि दि टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले १७ हजार क्यूफिट काठ उपलब्ध गराउने भएको छ ।
विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको पुनःनिर्माणका लागि सोही मात्रामा कर्पोरेशनले काठ उपलब्ध गराउन लागेको हो ।
काष्ठमण्डप पुनःनिर्माणका लागि काठ उपलब्ध गराउने बारेमा काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्य र कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीबीच समझदारीपत्रमा हस्ताक्षरसमेत भइसकेको छ ।
काठैकाठबाट बन्ने काष्ठमण्डप पुनःनिर्माणका लागि लामो र ठूलो काठ आवश्यक पर्दछ । कर्पोरेशनका महाप्रबन्धक लौडारी बजारमा सामान्यतया १० फिट लामो काठ पाइने भएपनि काष्ठमण्डप पुनःनिर्माणका लागि ३८ फिट लामो काठ आवश्यक पर्ने बताउँछन् ।
‘काष्ठमण्डप पुनःनिर्माणका लागि लामो र ठूलो काठ आवश्यक पर्ने भएकाले सोहीअनुसार कटान र ढुवानी गर्नका लागि समझदारी गरेका हौं’, महाप्रबन्धक लौडारीले भने । काष्ठमण्डप पुनःनिर्माणका लागि विशेषखालको काठ विशेष ढङ्गले कटान गर्नुपर्ने उनको भनाइ थियो ।
काष्ठमण्डप पुनःनिर्माण दुई वर्षमा सक्ने गरी कार्ययोजना बनाएर अगाडि बढिसकिएको पुनःनिर्माण समितिका अध्यक्ष शाक्यले बताए ।
काठ दाउरा संकलन, चिरान, उत्पादन तथा आपूर्ति, दाहसंस्कार र धार्मिक प्रयोजनका लागि दाउरा आपूर्तिमा महत्वपूर्ण भूमिका खेलेको कर्पोरेशनले भूकम्पबाट भत्केका घर पुनःनिर्माणमा समेत उपलब्ध गराएको छ ।
काष्ठमण्डप पुनःनिर्माण दि टिम्बर कर्पोरेशन अफ नेपाल