News

राजधानीमै प्रहरी लुटेरा, पैसा लुट्ने २ हवल्दार पक्राउ

राजधानीमै प्रहरी लुटेरा, पैसा लुट्ने २ हवल्दार पक्राउ

काठमाडौं । नक्कली सुन देखाएर मंगलबार राति बल्खुमा भएको लुटपाटको घटनामा प्रहरीकै संलग्नता खुलेको छ । 

 

घटनालगत्तै पीडितले खबर गरेपछि प्रहरीले सुरु गरेको अप्रेसनमा नक्कली सुन र नगदसहित पक्राउ पर्नेमा दुईजना प्रहरी हवल्दार भएको खुलेको हो ।

 

महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको सिआरभी टोलीले राति ११ बजेतिर लुटपाटस्थलनजिकै एक केजी नक्कली सुन र ३६ लाख ६५ हजार रुपैयाँसहित पाँचजनालाई पक्राउ गरेको थियो । 

 

प्रहरीले औपचारिक रूपमा दुई हवल्दारको नाम सार्वजनिक नगरे पनि स्रोतले उनीहरू महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत शालिग्राम विक र बालाजु वृत्तमा कार्यरत मोहन बम रहेको बतायो ।

 

प्रहरी स्रोतले भन्यो, ‘बल्खुमा नक्कली सुन देखाएर नगद लुटपाट घटनमा प्रहरी हवल्दारकै संलग्नता देखिएको खुलेको छ । त्यसमध्ये एक ललितपुर परिसर र अर्का बलाजु वृत्तका हवल्दार हुन् ।’

 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी शैलेस थापाले पनि प्रहरी संलग्नता रहेको सूचना प्राप्त भएको बताए । ‘सुन देखाएर लुटपाटमा प्रहरीको संलग्नता भएको भन्ने मैले पनि सुनेँ । 

 

मातहतका निकायलाई घटनामा जोसुकै संलग्न भए पनि अनुसन्धान गरेर कडा कारबाही गर्न भनेको छु,’ डिआइजी थापाले भने, ‘घटनामा संलग्न रहेछन् भने उनीहरूविरुद्ध फौजदारी मुद्दा चल्छ । मैले निर्देशन दिइसकेको छु ।’

 

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले भने घटना अनुसन्धानकै क्रममा रहेकाले केही बताउन नमिल्ने बताए । नक्कली सुन देखाएर लुटपाट गरिएको भने साँचो भएको उनको भनाइ छ ।

 

हवल्दारद्वय हत्कडीसहित पुगेका थिए
नक्कली सुन बेचेर पैसा लिने समूहको योजना थियो । सुन नकिने लुट्ने तयारी पनि थियो । प्रहरी स्रोतका अनुसार समूहको नेतृत्व हवल्दारद्वय शालिग्राम विक र मोहन बमले नै गरेका थिए । उनीहरू हत्कडीसहित कारोबारस्थल पुगेका थिए । 

 

उनीहरूकै संलग्नतामा बा.१०च ८९९२ नम्बरको टाटा डिआई गाडीमा एक केजी नक्कली सुन ल्याइएको थियो । सुन तौलिने इलेक्ट्रिक तराजु र धातु काट्ने कैँची पनि गाडीभित्रै थियो । 

 

खरिद गर्नेले नक्कली सुन थाहा पाएर किन्न आनाकानी गरेपछि समूहले धम्क्याएर लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

हवल्दार पक्राउ नेपाल प्रहरी

विशेष