News

स्वास्थ्य मन्त्रालयका १७ सय कर्मचारी जिम्मेवारीविहीन

स्वास्थ्य मन्त्रालयका १७ सय कर्मचारी जिम्मेवारीविहीन

काठमाडौं । देशमा नयाँ संरचना लागू भएसँगै स्वास्थ्य मन्त्रालयअन्तर्गतका करिब १ हजार ७ सय कर्मचारी ५ महिनादेखि जिम्मेवारीविहीन (फाजिल) छन् ।

 

अध्ययन र योजनाबिना संरचना बनेपछि सबै कर्मचारी दरबन्दीमा अटेका छैनन् । विशेषज्ञ डाक्टर, प्राविधिक र प्रशासनिक कर्मचारी जिम्मेवारीविहीनहुँदा देशभरकै स्वास्थ्य सेवा प्रभावितभइरहेको छ ।

 

वीर अस्पतालमा पनि ४२ कर्मचारीले दरबन्दीबिनै काम गरिरहेकाछन् । जसमा २० अनमी र २२ हेल्थ असिस्टेन्ट छन् ।

 

मन्त्रालयमा एघारौं तहका १० कर्मचारी दिनहुँ हाजिर गर्ने, घर फर्किने मात्रै गरिरहेका छन् । जसमा ३ विशेषज्ञ डाक्टर र अरू प्राविधिक कर्मचारी छन् ।

 

देशभर जिम्मेवारीविहीन हुने कर्मचारी स्वास्थ्य शिक्षा र जनस्वास्थ्यका बढी छन् । मन्त्रालयले जिम्मेवारी दिन नसक्दा यस्ता कर्मचारी कार्यालय आउने र घाम ताप्ने मात्रै गर्ने गरेका छन् ।

 

एक कर्मचारीले कार्यालयमा बस्ने ठाउँसमेत नभएको गुनासो गरे । केहीले ५ महिनादेखि तलब पनि पाएका छैनन् । उनीहरू दिनहुँ विभाग र मन्त्रालय धाइरहेका छन् ।

 

करिब ६ महिना कामविहीन भएर बस्नुपर्दा कर्मचारी आक्रोशित छन् । तलब पाएका कर्मचारीले पनि अन्य सेवा सुविधा पाएका छैनन् । मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘कर्मचारी हिसाब नगरी संरचना बनाउने सरकार, अनि पीडित हुनेचाहिँ हामी कर्मचारी ?’

 

 

नयाँ संरचनाअनुसार देशभरका स्वास्थ्य तालिम केन्द्र, जिल्ला जनस्वास्थ्य कार्यालय र मेडिकल स्टोर खारेज भए । धेरै कर्मचारी अटेका यस्ता कार्यालय खारेज भएपछि स्वास्थ्य संरचना अहिले भद्रगोल भएको छ ।

 

यही कारण देशभर खोप कार्यक्रम अव्यस्थित छ भने विपन्न नागरिकले निःशुल्क उपचार खर्च पाउन छाडेका छन् । साउनपछिको स्वास्थ्य तथ्यांक संकलन भएको छैन ।

 

स्थानीय तहमा औषधि खरिद तथा ढुवानी गर्ने काम पनि व्यवस्थित हुन सकेको छैन । केन्द्रबाट बजेट गए पनि सदुपयोग हुन नसकेको मन्त्रालयका अधिकारीले जनाएका छन् ।

 

स्वास्थ्यकर्मीले नियमित पाइरहेका तालिम पनि रोकिएका छन् । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 
 

स्वास्थ्य मन्त्रालय कर्मचारी

विशेष