News

मदिरा उद्योगलाई कडार्इ, विज्ञापन र प्रायोजनमा रोक

मदिरा उद्योगलाई कडार्इ, विज्ञापन र प्रायोजनमा रोक

काठमाडौं । सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र प्रचार–प्रसारमा अंकुश लगाउने भएको छ ।

 

गृह मन्त्रालयले कार्यकारी आदेश जारी गर्दै मदिराको उत्पादनदेखि प्रचारसम्ममा अंकुश लगाउने तयारी गरेको हो ।

 

शान्तिसुरक्षामा खलल पुर्याउने तथा महिला हिंसा बढाउन कारक रहेको भन्दै गृहले कडा नियम लगाउन लागेको हो ।

 

मदिरा सेवनले समाजमा शान्तिसुरक्षा, अमनचयन, स्वास्थ्य, सदाचार र आर्थिक पक्षमा ठूलो क्षति पुर्याइरहेकाले मदिराको उत्पादन, बिक्री–वितरण र सेवनलाई नियन्त्रण गर्न अत्यावश्यक छ,’ कार्यकारी आदेशको प्रस्तावित मस्यौदामा भनिएको छ, ‘मदिरासम्बन्धी एकीकृत कानुन नबनेसम्म तत्कालै कार्यकारी आदेश जारी गरी समस्या समाधान गर्नुपर्छ ।’

 

मदिरा उद्योगलाई कडाइ, विज्ञापन र प्रायोजनमा रोक
गृहले मदिरा उद्योगलाई कडाइ गर्न प्रस्ताव गरेको छ । नयाँ उद्योग स्थापनादेखि उद्योगको शाखा विस्तार र क्षमता वृद्धिमा समेत रोक लगाउन गृहले प्रस्ताव गरेको हो ।

 

प्रस्तावित कार्यकारी आदेशमा नयाँ मदिरा उद्योगको दर्ता तथा अनुमति स्थगित गर्ने, अनुमति लिएर ६० प्रतिशतभन्दा कम लगानी गरेका उद्योगलाई रोक लगाउने, सञ्चालनमा रहेका उद्योगका शाखा तथा क्षमता विस्तारमा रोक लगाउने उल्लेख छ ।

 

त्यस्तै, धार्मिक, शैक्षिक तथा सार्वजनिक क्षेत्रको ३ किलोमिटरभित्र उद्योग सञ्चालन गर्न नपाइने, भएका उद्योग पनि सार्नुपर्ने, उद्योगलाई आवास क्षेत्रभन्दा २ किमि टाढा सार्नुपर्नेलगायत प्रावधान राखिएको छ ।

 

मन्त्रालयले तयार गरेको कार्यकारी आदेशमा मदिरा तथा मदिराजन्य पदार्थको विज्ञापन, प्रकाशन तथा प्रसारण गर्न र होर्डिङ बोर्ड राख्नसमेत रोक लगाउने प्रस्ताव छ ।

 

त्यस्तै, मदिरा उद्योगलाई खेलकुद, कन्सर्टलगायत सार्वजनिक कार्यक्रमको प्रायोजन गर्न नदिने उल्लेख छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

मदिरा उद्योग

विशेष