ऐन मिचेर वाइडबडी खरिद
काठमाडौं । नेपाल वायुसेवा निगमका वाइडबडी जहाज खरिदमा सार्वजनिक खरिद ऐनको उल्लंघन भएको भेटिएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका केही अधिकारीले स्वच्छ प्रतिस्पर्धाको वातावरण रोकेर एउटै कम्पनीको उत्पादनलाई फाइदा पुग्ने निर्णय भएको निष्कर्ष निकालेका हुन् ।
‘हामीले प्रारम्भिक रुपमा हेर्दा निगमले विमान खरिदका क्रममा सार्वजनिक खरिद ऐनको उल्लंघन गरेको देखिन्छ,’ अनुगमन स्रोतले भन्यो, ‘थप छलफल गरेर कार्यालयले आधिकारिक रूपमा लेखा समितिमा जवाफ दिनेछ ।’
अनुगमन कार्यालयले आगामी साता संसद्को सार्वजनिक लेखा समितिमा लिखित राय पेस गर्ने म्यान्डेट पाएको छ ।
२०७३ असोज ७ गते निगमको सञ्चालक समिति बैठकले व्यावसायिक योजना स्वीकृत गरेको थियो । उक्त योजनामा ‘एयरबसबाहेक अन्य कम्पनीका विमान आफूलाई उपयुक्त नहुने’ भनी एयरबस कम्पनीको नाम उल्लेख नगरी २ वटा ‘ए–३३०–२००’ विमान खरिद गर्ने निर्णय थियो ।
‘हामीले कागजात हेर्दा यस्तो मोडेलको विमानको वास्तविक निर्माता तथा आपूर्तिकर्ता एयरबस कम्पनीमात्रै रहेको देखिन्छ,’ अनुगमन कार्यालयमा छलफलका क्रममा तयार पारिएको प्रारम्भिक मस्यौदाबारे स्रोतले भन्यो, ‘विमान खरिदको सार्वजनिक सूचना प्रकाशित हुँदा विमान निर्माता कम्पनी र स्पेसिफिकेसन यकिन गरिसकेको अवस्था छ । यस्तो तरिकाले कसरी प्रतिस्पर्धा भयो र ?’
ती अधिकारीका अनुसार अध्ययन क्रममा सार्वजनिक खरिद ऐनको दफा–४ लाई आधार मान्ने तयारी भएको छ । दफा ४ मा खरिद कार्यको जिम्मेवारी र खरिद विधिसम्बन्धी व्यवस्था छ ।
उक्त दफामा सार्वजनिक निकायले मालसामान खरिद गर्नुअघि त्यससम्बन्धी स्पेसिफिकेसन, योजना वा अन्य विवरण तयार गर्नुपर्ने उल्लेख छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
वाइडबडी जहाज नेपाल वायुसेवा निगम