News

कर्मचारी समायोजन प्रक्रिया एक सातापछि सुरु

कर्मचारी समायोजन प्रक्रिया एक सातापछि सुरु

काठमाडौं । संघीय ढाँचाअनुसार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न तयार पारिएको बहुप्रतीक्षित कर्मचारी समायोजन अध्यादेशलाई मन्त्रिपरिषद्को विधेयक समितिले स्वीकृत गरेको छ ।

 

बिहीबार बसेको विधेयक समितिले व्यापक छलफलपछि केही संशोधनसहित अध्यादेशलाई स्वीकृत गर्दै मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरेको हो ।


अध्यादेशलाई शुक्रबार मन्त्रिपरिषद्मा पेस गरिनेछ । आगामी सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट पारित गराई समायोजन प्रक्रिया थाल्ने तयारी गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।


आगामी सोमबारको मन्त्रिपरिषद् बैठकले अध्यादेशलाई स्वीकृत गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाउने तयारी थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेलगत्तै राजपत्रमा प्रकाशन गरेर अध्यादेशलाई कार्यान्वयनमा लगिनेछ ।

 

राजपत्रमा सूचना प्रकाशन गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन हुन चाहने कर्मचारीका लागि सूचना आह्वान गर्नेछ ।

 

मन्त्रिपरिषद्को विधेयक समितिले बिहीबार अध्यादेशमा रहेका केही प्रावधानलाई सामान्य संशोधनसहित मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरेको हो ।

 

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजन अध्यादेश अन्तिम चरणमा पुगेको जानकारी दिए । मन्त्री पण्डितले आगामी सातादेखि अध्यादेशलाई कार्यान्वयनमा लैजाने गरी आवश्यक गृहकार्य अघि बढाइएको बताए ।

 

केही दिनअघि मात्रै लोकसेवा आयोगले समायोजन अध्यादेशमाथि परामर्श दिँदै केही प्रावधान सच्याउन भनेको थियो तर लोकसेवाले दिएको परामर्शलाई अध्यादेशमा नसमेटिएको स्रोतले जानकारी दिएको छ । मन्त्री पण्डितले समायोजन कार्य पुस महिनाभित्रै सक्ने गरी गृहकार्यलाई तीव्र पारिने बताए ।

 

सरकारले कर्मचारी समायोजन अध्यादेशमार्फत निजामती सेवा र स्थानीय तहमा कार्यरत १ लाख ९ हजार कर्मचारीको समायोजन गर्नेछ ।

 

हाल निजामती सेवामा ८९ हजार ३९ जना कर्मचारी छन् । साबिकका स्थानीय निकायका स्थायी कर्मचारी झन्डै २० हजार छन् ।

 

यीलगायत प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएका विभिन्न समिति, आयोग र प्रतिष्ठानमा कार्यरत स्थायी कर्मचारीलाई पनि समायोजन गर्ने सरकारको तयारी छ ।

 

निजामती सेवामा कार्यरत सबै कर्मचारी हाल केन्द्रीय सरकार मातहत छन् । यो समाचार राजधानी दैनिकबाट लिइएको हो । 

कर्मचारी समायोजन प्रक्रिया

विशेष