News

श्रीमतीको हत्या गरी फरार युवक पक्राउ

श्रीमतीको हत्या गरी फरार युवक पक्राउ

गुल्मी । श्रीमतीको हत्या गरी फरार युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मदाने गाउँपालिका ६ पनाहाका ३३ वर्षका दुर्गा नेपालीलाई धाराचौर गहुँछरे भन्ने ठाउँको जंगलबाट प्रहरीले पक्राउ गरेको हो ।

 

 

नेपाली आफ्नी ३१ वर्षीया श्रीमती सीता नेपालीको हत्या गरी फरार थिए । आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरीले नेपालीलाई सार्वजनिक गरेको छ ।

 

 

 

जंगलमा खाली गोठमा लुकेर बसेको अवस्थामा इलाका प्रहरी कार्यालय पुर्कोटदहको टोलीले उनलाई नियन्त्रणमा लिएको  प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिए । 

 

 

 

नेपालीले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । उनले प्रहरीमा दिएको बयानअनुसार तीजमा माइत गएकी उनकी श्रीमती कात्तिक १५ गते घर फर्किएकी थिइन् । दुर्गाले श्रीमती घर आएको खबर गाउँलेबाट पाएका थिए । त्यसपछि रक्सी सेवन गरेर घर गएका उनले घरमा श्रीमती भेटेनन् ।

 

 

 

राती ९ बजे स्थानीय राजकुमार थापाको कोही नबस्ने खाली घरमा भित्रबाट ढोका लगाई लुकेर बसेको थाहा पाएपछि दुर्गाले ढुंगाको छानो भएको पालीबाट छिरेर भित्र गएका थिए । प्रहरीका अनुसार दुर्गाकी श्रीमती सीता ४ छोराछोरीसहित त्यहाँ भुइँमा सुतिरहेकी थिइन् ।

 

 

 

दुर्गाले घर जाउँभन्दा नमानेपछि ढोकाको आगुलोले हिर्काएको बयान प्रहरीसमक्ष दिएका छन् । श्रीमतीलाई टाउको, हात, खुट्टालगायत शरीरका विभिन्न भागमा हानेर उनी छोराछोरीलाई लिएर घर फर्किएका थिए । दुर्गाले आफूले भोलिपल्टमात्र श्रीमतीको मृत्यु भएको जानकारी पाएको प्रहरीसमक्ष बताएका छन् ।

 

 

उक्त घटनापछि फरार दुर्गा कात्तिक १७ गते राती ११ बजेको घरमा गई मकै भटमास भुटेर, कपडा, कराहीसमेत पोको पारी धाराचौर गहुँछरे भन्ने जंगलमा रहेको खाली गोठमा गएर बसेका थिए ।

बाबुको प्रहारबाट आमाको मृत्यु भएपछि ४ सन्तानको बिच्ल्ली भएको छ । आमाको मृत्यु भएको र आमाको हत्या आरोपमा बाबु पक्राउ परेपछि उनीहरुको विचल्ली भएको हो । नेपाली दम्पत्तिको एक छोरी र ३ छोरा छन् । 

गुल्मी युवक पक्राउ

विशेष