News

मुख्यमन्त्री पौडेलले अब विद्युतीय जीप चढ्ने

मुख्यमन्त्री पौडेलले अब विद्युतीय जीप चढ्ने

हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय गाडी चढ्ने भएका छन् । चीनमा उत्पादन गरिएकोे बीवाईडी जीप हेटौंडा आइपुगेको छ, जसको मुल्य ५५ लाख पर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

 

जीपको ब्याट्रीमा १० वर्ष वारेन्टी छ । २ घण्टा चार्ज गर्दा ४ सय किलोमिटर गुड्ने बताइएको छ । प्रदेशका मुख्य शहरहरुमा १० वर्षभित्र पेट्रोलियम सवारीसाधन नचलाउने नीति लिएको प्रदेश सरकारले मुख्यमन्त्रीका लागि विद्युतिय जीप ल्याएको हो । 

 

विद्युतीय गाडीहरु नियमित सञ्चालनका लागि चितवनको मुग्लिन, हेटौंडा, त्रिभुवनराजपथको विभिन्न स्थानका साथै पूर्वपश्चिम राजमार्गमा पनि विद्युतीय चार्जिङ स्टेशन स्थापना गर्ने योजना छ ।

 

पहिलो चरणमा हेटौंडास्थित मुख्यमन्त्री कार्यालयमा मल्टियुजर चार्जिङ स्टेशन स्थापना गरिनेछ । प्रदेश सरकारले विद्युतीय बसहरु पनि सञ्चालनको तयारी गरेको छ । पहिलो चरणमा हेटौंडा–नारायणगढ सञ्चालन हुने त्यस्ता गाडी निकट भविष्यमा रसुवा–हेटौंडा लगायत क्षेत्रमा पनि सञ्चालन गरिनेछ ।

 

नेपालको वातावारणमा स्वच्छ कायम गरिराख्ने एकमात्र भरपर्दो उपाय विद्युतीय गाडीको प्रवर्द्धन भएकाले प्रदेशलाई अब विद्युतीय सवारीसाधनतर्फ डोर्‍याउने मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।

मुख्यमन्त्री डोरमणि पौडेल विद्युतीय गाडी चढ्ने

विशेष