विदेश

इराकमा २०२ सामूहिक चिहान भेटिए !

इराकमा २०२ सामूहिक चिहान भेटिए !

बग्दाद । इराकमा लामो समयदेखि इश्लामिक स्टेट (आइएस) समूहको नियन्त्रणमा रहेको क्षेत्रमा २ सय भन्दा बढी सामूहिक चिहान भेटिएको संयुक्त राष्ट्रसङ्घले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा भनेको छ ।

 

 

 
आइएसले हालैका दिनमा छोडेको भूभागमा २०२ सामूहिक चिहान भेटिएको र उक्त स्थानमा हजारौं इराकीका मृत शरीर गाडिएको अवस्थामा भेटिएको इराकका लागि राष्ट्रसंघीय सहयोग मिसन (यूएनएएमआई) तथा राष्ट्रसंघ मानव अधिकार कार्यालयद्वारा तयार पारिएको प्रतिवेदनमा छ ।

 

 

इराकको नाइनएभे, किर्कुक, सलाहुद्दिन र अनबरलगायत इराकका उत्तरी र पश्चिमी क्षेत्रमा ती चिहान भेटेको राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालयले जनाएको छ । 

 


पश्चिम मोसुलमा रहेको सबैभन्दा सानो चिहानमा करिब एक दर्जन मृत शरीर भेटिएको छ भने सबैभन्दा ठूलो सोही क्षेत्रको खास्फा सिनखोलेमा झण्डै एक हजार मृत शरीर रहेको प्रतिवेदनमा छ । 

 


उक्त स्थानहरूबाट संकलन गरिएका तथ्यहरू अनुसन्धान तथा दोषीलाई अन्तर्राष्ट्रिय प्रक्रिया अनुसार कानूनी कारबाही गर्नका लागि विश्वसनीय आधार बन्नसक्ने प्रतिवेदनमा छ । 

 

 

आइएसले सन् २०१४ मा इराकको दोस्रो ठूलो शहर मोसुल अन्य ठूलो क्षेत्रलाई अधिनमा लिन सफल भएको थियो । 

 


उनीहरूले इराकमा योजनावद्ध हिंसा फैलाएको र उक्त क्रममा अन्तर्राष्ट्रिय मानव अधिकार कानून तथा ऐनको उल्लंघन गरेको र यसका लागि उनीहरूले युद्धअपराध मुद्दाको सामना गर्नुपर्ने प्रतिवेदनमा छ ।

 

 

इराकले विद्रोहीको नियन्त्रणबाट सम्पूर्ण भूभाग सन् २०१७ को डिसेम्बर ९ मा फिर्ता गर्न सफल भएको थियो । त्यसपछि भएका खोजीका क्रममा ती सामूहिक चिहान भेटिएका हुन् । एजेन्सी

इराक आइएस सामूहिक चिहान

विशेष