News

तीन महीनामा ६३ हजार बढीलाई प्रहरी रिपोर्ट प्रदान

तीन महीनामा ६३ हजार बढीलाई प्रहरी रिपोर्ट प्रदान

काठमाडौं । प्रहरी प्रधान कार्यालयले चालू आर्थिक वर्ष २०७५-०७६ को पहिलो तीन महीनामा ६२ हजार ६ सय ८४ जनालाई प्रहरी रिपोर्ट प्रदान गरेको छ। विदेश जाँदा आवश्यक पर्नेहरुका लागि प्रहरी रिपोर्ट उपलब्ध गराइएको हो।

 

 

गत आर्थिक वर्षमा दुई लाख ७७ हजार ४ सय ९५ जनाले प्रहरी रिपोर्ट लिएका थिए। प्रहरी प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले विदेशमा रहेका नेपालीलाई आवश्यक पर्ने प्रहरी रिपोर्ट छिटोछरितो उपलब्ध गराउन इमेलबाटै आवेदन लिने र इमेलबाटै प्रहरी रिपोर्ट पठाउने व्यवस्था मिलाइएको बताए।

 

 

‘विदेश जानेलाई विभिन्न केन्द्र र सातै प्रदेशबाट आवेदन लिने तथा प्रमाणपत्र दिने व्यवस्था मिलाएका छौं’, उनले भने, ‘अझै छिटोछरितो र सहज हुने गरी उपलब्ध गराउन भविष्यमा अनलाइनबाटै हुनेगरी प्राविधिक संयन्त्र तयार गर्ने प्रक्रिया अगाडि बढाएको छ।’ 

 

 

सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक भएसँगै उपत्यकाका चार स्थानमा सेवा थप गरिएको थियो। हाल काठमाडौंको महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, कालिमाटी, गौशाला, महानगरीय प्रहरी परिसर भक्तपुर र परिसर ललितपुर तथा सातै प्रदेशबाट प्रहरी रिपोर्ट लिने व्यवस्था गरिएको छ। 

 

 

प्रवक्ता सुवेदीले काठमाडौं उपत्यकाभित्र भरेको फाराम तीन दिनभित्र, प्रदेश कार्यालयबाट एक हप्तामा र विदेशी नागरिकका लागि एक हप्तामा रिपोर्ट लिन मिल्ने व्यवस्था गरिएको जानकारी दिए।

प्रहरी प्रधान कार्यालय प्रहरी रिपोर्ट

विशेष