News प्रदेश ७

बझाङमा २० प्रतिशतले धान उत्पादनमा वृद्धि 

बझाङमा २० प्रतिशतले धान उत्पादनमा वृद्धि 

बझाङ । यो वर्ष बझाङमा धान उत्पादनमा वृद्धि भएको छ । अनुकूल मौसम र उपयुक्त बीउको प्रयोग भएका कारण जिल्लामा धान उत्पादनमा वृद्धि भएको हो । 

 

 

धानको उत्पादन २० प्रतिशतले वृद्धि भएको  कृषि ज्ञान केन्द्रले जनाएको छ । यसवर्ष तीन वर्ष यताकै राम्रो धान उत्पादन भएको छ ।

 

 

बझाङमा यस वर्ष झण्डैं ८ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यस वर्ष बझाङभर झण्डैं २८ हजार मेट्रिक टनभन्दा बढी धान उत्पादन भएको ज्ञान केन्द्रको प्रारम्भिक अनुमान छ ।

 

 

यो गतवर्ष भन्दा झण्डैं ५ हजार मेट्रिक टन बढी हो । गत वर्ष यति नै क्षेत्रफलमा झण्डैं २३ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र प्रमुख रामलाल जोशीले बताए ।

 

 

यो वर्ष समयमै रोपाई सकिएको र स्थानीय जातहरुको तुलनामा मूल बीउ र उन्नत जातको धानको बीउ बढी प्रयोग भएका कारण समग्र उत्पादनमा वृद्धि भएको हो  ।

 

 

ज्ञान केन्द्र प्रमुख जोशीले भने ‘तीन वर्ष यता कै राम्रो धान उत्पादन भएको छ । गएको वर्षभन्दा न्यूनतम १५ प्रतिशत उत्पादनमा वृद्धि भएको हामीले पाएका छौ ।’

 

 

उत्पादन वृद्धि गर्नका लागि बीउको छनौट, कम्पोष्ट मल बनाउने तथा खेतमा हाल्ने तरिका र खेती गर्ने प्रविधिमा पनि किसानहरु सचेत हुँदै गएका कारण जिल्लामा धानको उत्पादन क्रमशः बढ्दै गएको उनले बताए  ।

 

 

पहिलाका वर्षहरुभन्दा यसवर्ष धान उत्पादन राम्रो भएको स्थानीय किसान सुनीतादेवी रोकायाले बताए । उनले भने, ‘गएको वर्ष एक बोरा फल्ने ठाँउमा यस वर्ष बढेर डेढ बोरासम्म भएको छ ।

 

 

सही समयमा नै रोपार्इं सम्पन्न गरेका थियौ । जलमल पनि मिलेर हो कि क्या हो, राम्रो धान उत्पादन भएको छ । हामीलाई निकै खुशी लागेको छ ।’

 

 

थलारा गाउँपालिका वडा नम्बर ६ पीखेतको जीउलामा धान उत्पादनमा वृद्धि भएको आफूले पाएको स्थानीय बासिन्दा जगदीस रोकायाले बताए । यहाँका किसानहरु समेत गएका वर्षहरुभन्दा राम्रो धान उत्पादन भएको भन्दै निकै खुशी भएका छन् ।

 

 

थलारा गाँउपालिकामा मात्रै नभई बझाङ अगुवा तथा सर्वसाधारण किसानहरु समेत राम्रो धान उत्पादन भएको भन्दै खुशी भएका छन् । 

बझाङ धान उत्पादन

विशेष