News

घरमै पुगेर जनप्रतिनिधिद्वारा अग्निपीडितलाई राहत वितरण

घरमै पुगेर जनप्रतिनिधिद्वारा अग्निपीडितलाई राहत वितरण

ओखलढुङ्गा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाले वाक्साका अग्निपीडितलाई राहत उपलब्ध गराएको छ ।

 

 

दुई दिनअघि आगलागीबाट पशु चौपायसहितको धनमाल गुमाएका पीडितलाई जनप्रतिनिधिले घरैमा पुगेर राहत दिएका हुन् । 

 

 

सडकको पहुँच नभएकाले आवश्यक सामान बोकेर पु¥याइ वितरण गरिएको गाउँपालिका उपाध्यक्ष सविता राईले बताइन् ।

 

 

‘पीडितको पीडामा थोरै भए पनि मल्हम लगाउन प्रयास गर्यौं’, उनले भने, ‘सडकको सहज पहुँच नभएकाले काँधमै राहत सामग्री लिएर गयौं र स्थानीय सरकारका तर्फबाट हुने सहयोग उपलब्ध गराएर फर्कियौं ।’

 

 

राहत बोकेर गाउँपालिका अध्यक्ष मोतीराज राई, उपाध्यक्ष राईसहित अन्य जनप्रतिनिधि र स्थानीय सरोकारवाला वाक्सा पुगेका थिए । 

 

 

गाउँपालिकाको तर्फबाट त्रिपाल, ब्लाङ्केट, नुन, तेल, चामल र वडाको तर्फबाट नगद सहयोग गरिएको वडाध्यक्ष उमेश कार्कीले जानकारी दिए।

 

 

‘सबैतिर तिहारको रौनक हुँदा उनीहरुलाई पनि थप निराशा नहोस् भनेर तत्काल स्थानीय सरकारले अभिभावकत्व ग्रहण गरेको हो’ अध्यक्ष कार्कीले भने ।

 

 

उनका अनुसार वडाले प्रतिपरिवार पाँच हजारका दरले सहयोग गरेका छौं । नेपाली काङ्ग्रेसका स्थानीय नेता राममणि राईले पनि वाक्साका अग्निपीडितलाई चामल, नुन तेललगायत सामग्री सहयोग गरेका छन् ।

 

 

केही दिनअघि बच्चाले महुरीलाई आगो लगाउन खोज्दा शुरु भएको आगोले मानेभञ्ज्याङ गाउँपालिका–२, वाक्सामा आगलागी हुँदा चार घर जलेर नष्ट भएका थिए । आगोमा परेर चारवटै घरका पशु चौपाय र घरभित्र भएको धनमाल जलेर पूर्ण रूपमा नष्ट भएको थियो । 

 

 

आगोले नृपबहादुर कार्कीको घर तथा दुई भैंसी जलेका छन् । त्यस्तै जीतमाया राईको घर, गोठ र नौ बाख्रा जलेर मरेका छन्, धीरेन्द्र कार्की र अमृतबहादुर कार्कीको पनि घर जलेको छ ।

 

 

आगाले एक करोड हाराहारीमा क्षति भएको प्रहरीको अनुमान छ । आगलागी पीडित छिमेकी र आफन्तको सहारामा बसेका छन् ।

ओखलढुङ्गा अग्निपीडितलाई राहत

विशेष