बुवा–आमाको सम्झनामा एक करोडको सभाहल निर्माण
बागलुङ । आफ्ना स्वर्गीय बुवा आमाको स्मृतिमा बागलुङका एक परिवारले तिरुपती बालाजीधामको मन्दिर परिसरमा सभाहल निर्माण गरिदिएका छन् ।
बागलुङको बागलुङ नगरपालिका–३ निवासी समाजसेवी सहदेव राजभण्डारी, आनन्दप्रकाश राजभण्डारी तथा डा शेखर राजभण्डारीले स्वर्गीय बुबा आमाको स्मृतिमा बागलुङ नगरपालिका–४ कुडुँलेमा रहेको तिरुपती बालाजीधाममा ताम्रपत्रले छाएको सभाहल निर्माण गरिदिएको बालाजीधामले जनाएको छ ।
कुडुँलेमा रहेको तिरुपती बालाजीधाममा आउने भक्तजनको सेवासुविधालाई मध्यनजर गर्दै स्वर्गीय बुबा टीकाबहादुर राजभण्डारी तथा आमा विद्यालक्ष्मी राजभण्डारीको स्मृतिमा सभाहल निर्माण गरिएको सहयोगदाता सहदेव राजभण्डारीले बताए ।
झण्डै रु एक करोडको लागतमा निर्माण भएको सभाहल ताम्रपत्रले छाइएको छ । तिरुपती बालाजीधामलाई हालै धार्मिक पर्यटकीय गन्तव्य निर्माण गर्नका लागि कलाकौशलले भरिपूर्ण बालाजीधामकोे मन्दिर, नेपालकै पहिलो भूगर्भभित्र शालिग्राम शिला सङ्ग्रहालय निर्माण भइरहेको बालाजीधामका अध्यक्ष स्वामी ऋषि प्रपन्नचार्यले बताए ।
धाममा मुक्तिनाथ वेदविद्याश्रमसमेतको कक्षा सञ्चालन भइरहेको छ । “मन्दिरमा मनकारी सहयोगदाताको रकमबाट विभिन्न संरचना निर्माण भएका छन्”, प्रपन्नचार्यले भने, “राजभण्डारी परिवारको पवित्र मनले गरेको सहयोगबाट सभाहल निर्माण भएको हो ।”
मन्दिरमा आउने धार्मिक पर्यटक, भक्तजन र वेदविद्याश्रममा अध्ययनरत बटुकलाई सभाहलले सहज पुर्याउने बताइएको छ ।
सभाहल पुरातन शैलीमा विभिन्न कलाकौशलको प्रयोग गरेर निर्माण भएको हो । सभाहलको २०० बढी भक्तजन अटाउन सक्ने क्षमता रहेको छ । राजभण्डारी परिवारले मन्दिर तथा वेदविद्याश्रमलाई निरन्तर सहयोग गरिरहने प्रतिबद्धतासमेत गरेका छन् ।
सभाहल