News

पूर्वमन्त्री गौतम माछा पालनमा

पूर्वमन्त्री गौतम माछा पालनमा

दमौली । मन्त्री र सांसद भइसकेको व्यक्ति पनि कृषि पेशामा लाग्लान् र भन्ने धेरैको आशंका हुने गर्दछ ।

 

हुन पनि धेरै राजनीति गर्ने नेताहरु मन्त्री भइसकेपछि राजनीतिलाई नै अगाडि बढाउने गर्छन् । निकै कम मात्रै नेताहरुले कृषि पेशालाई अंगालेका छन् । 

 

तिनै मध्येका एक हुन् बन्दीपुर गाउँपालिका–१ पिप्लेका भीमप्रसाद गौतम । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भूमिसुधारमन्त्री बनेका गौतमले आफ्नै ठाउँमा माछापालन गरिरहेका छन् । डेढ वर्षअघिदेखि गौतमले आफ्नै जग्गामा माछापालन सुरु गरेका हुन् । 

 

नयाँ शक्ति नेपालका नेता रहेका गौतमले राजनीतिसँगै कृषि पेशालाई अगाडि लैजान माछापालन गरेको बताए । उनले भने, “नेता भएर भाषण गर्ने प्रवृत्ति हाम्रो समाजमा धेरै छ ।

 

कृषिउद्यम गर्र्नेको सङ्ख्या भने निकै कम छ ।” गौतमले राजनीतिपछिको जीवनमा केही काम गर्छु भन्ने लक्ष्य आफूमा पहिलेदेखि नै रहेकाले माछापालन व्यवसाय सुरु गरेको बताए ।

 

उनको आफ्नै ११ रोपनी जग्गामा माछापोखरी निर्माण गरिएको छ । उक्त जग्गामा पहिला धानखेती हुँदा वार्षिक रु एक लाख जति आम्दानी हुने गर्दथ्यो । तर माछापालनबाट भने प्रतिरोपनी वार्षिक रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको गौतमले बताए । 

 

गौतम कृषि फार्मको सम्पूर्ण रेखदेख गौतमका ठूला छोरा कुलेन्द्र गौतमले गरिरहनुभएको छ । पोखरी निर्माणका लागि जिल्ला कृषि विकास कार्यालय तनहुँले रु एक लाख ६५ हजार अनुदान दिएको थियो ।

 

माछापालनका लागि तनहुँको हावापानी उत्कृष्ट रहेकाले यसतर्फ कृषकहरुको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

 

सजिलो खेती र माछाको बजारका कारण पनि कृषकको माछापालनमा आकर्षण बढेको छ । तनहुँमा कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, रहु, नैनी, माहुर जातका माछा पालिने गरिएको छ । 

भीमप्रसाद गौतम

विशेष