श्रीमतीको नाम राखेर नागरिकता
काठमाडौं । पुराना नागरिकतामा बुबाको मात्रै नाम लेखिन्थ्यो । नयाँ नागरिकतामा आमा र श्रीमतीको नाम थप्न सकिने व्यवस्था गरियो। पछिल्लो समयमा आमाको नाम थपेर नागरिकता बनाउने धेरै छन्। नेपालगन्जका एकजना कानुन व्यवसायीले भने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला आमा र श्रीमतीको नाम उल्लेख गरेर नागरिकता लिएका छन् ।
कानुन व्यवसायी विश्वजित तिवारीले महिला हिंसा न्यूनीकरणको सचेतना फैलाउन नागरिकतामा आमा र श्रीमतीको नाम थप्नुभएको हो ।अधिवक्ता तिवारीले भन्नुभयो– ‘यसले महिला र पुरुषको अधिकारमा समान पहुँच देखाउँछ ।’
सूचना अभियान्तासमेत रहेका अधिवक्ता तिवारीले सवैले आफ्नो नागरिकतामा बुबा, आमा र श्रीमतीको नाम उल्लेख गर्दा समान अधिकार झल्किने बताउनुभयो । आमा र श्रीमतीको समेत नाम लेखाएर नागरिकता लिने तिवारी जिल्लामा पहिलो भएको प्रशासकीय अधिकृत अमरराज सेजुवालले जानकारी दिनुभयो । अर्का प्रशासकीय अधिकृत रामकुमार सोनकरले श्रीमतीको समेत नाम लेखाएर नागरिकता लिँदा समाजमा समानताको आभास हुने भएकाले यो अनुकरणीय कार्य भएको बताउनुभयो ।
पछिल्लो व्यवस्थाअनुसार, आमाको नाम राखेर नागरिकता बनाउने गरिएको छ । श्रीमतीको नाम राखेको पाइँदैन । श्रीमतीको नाम राख्न भने सकिन्छ । श्रीमतीको नागरिकतामा श्रीमान्को नाम उल्लेख हुने भएकाले श्रीमान्ले आफ्नो नागरिकतामा श्रीमतीको नाम जरुरी ठानेको पाइँदैन । देशमा चलिरहेको महिला हिंसाविरुद्धको १६ दिने अभियानलाई सफल गराउन अधिवक्ता तिवारीले नागरिकतामा श्रीमतीको नाम लेखाएको बताउनुभयो ।
बाँकेमा पनि विविध कार्यक्रम गरेर महिला हिंसाविरुद्धको १६ दिने कार्यक्रम चलिरहेको छ । चोकचोकमा ब्यानर राख्नेदेखि अन्तरक्रिया, विद्यालयहरूमा सचेतना कार्यक्रम, हाजिरी जवाफ, सडक नाटकजस्ता गतिविधि भइरहेका छन् ।
नेपालगन्जका एकजना कानुन व्यवसायीले भने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको बेला आमा र श्रीमतीको नाम उल्लेख गरेर नागरिकता लिएको हो । यो समाचार नेपाल समाचारपत्र दैनिकवाट लिइएको हो ।