अफगानिस्तानमा झडप, ८ प्रहरीसहित ११ तालिवानको मृत्यु
काठमाडौं । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक झडपको क्रममा कम्तीमा ८ प्रहरी अधिकारी मारिएका छन् । यस झडपको क्रममा ११ तालिवान लडाकू् पनि मारिएका छन् । एक स्थानीय अधिकारीले मङ्गलबार सो जानकारी दिएका छन् ।
कान्दाहार प्रान्तको आर्घीस्तान जिल्लाको सनदार्ज इलाकामा रहेको एक प्रहरी चौकीमा अज्ञात सङ्ख्यामा आएका सशस्त्र लडाकूहरुले आक्रमण गरेका थिए । सो आक्रमणमा क्रममा सरकारी सुरक्षाबल र लडाकूबीच भीषण झडप भएको प्रान्तीय सरकारले जनाएको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार तालिवान लडाकू समूहको बलियो पकड रहेको कान्दाहार प्रान्तमा हाल सुरक्षा व्यवस्थामा राम्रो सुधार आएको छ । तर पनि तालिवान लडाकू समूहले सरकारले सुरक्षा बढाएको प्रान्तहरुमा बारम्बार आक्रमण गर्दै आएका पाइन्छ ।