News खेल

जितसँगै मनाङ मर्स्याङ्दी अंक तालिकाको शीर्ष स्थानमा

जितसँगै मनाङ मर्स्याङ्दी अंक तालिकाको शीर्ष स्थानमा

काठमाडौं ।  शहीद स्मारक ए डिभिजन लिग अन्र्तगत शनिबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले सातौ स्थानको सरस्वती युवा क्लबलाई हराएको छ । 

 

 

एपीएफ मैदान हलचोकमा शनिबार भएको दोस्रो खेलमा मनाङले सरस्वतीलाई २–० ले पराजित गरेको हो । मनाङको जितमा अन्जन विष्ट र अफिज वलावालेले एक एक गोल गरे ।

 

 

सुरुवात देखि नै निक्कै आक्रमक खेल खेलेको मनाङले पहिलो हाफमा भने गोल गर्न सकेन । खेल शुरु भएको छैटौं मिनेटमा अफिज वलावाले गरेको प्रहार बाहिरिएको थियो । सातौ मिनेटमा मनाङले फ्रि कीक पाए पनि सदुपयोग गर्न सकेन ।

 

१० औं मिनेटमा वलावालेको प्रयास फेरि विफल भएको थियो । ४२ औं मिनेटमा मनाङका लागि कमल श्रेष्ठले गोल गर्ने मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।

 

 

दोस्रो हाफको ५५ औं मिनेटमा भने मनाङले गोल गर्दै खेलमा अग्रता लियो । उसका लागि  अन्जन विष्टले गोल गरे । खेलको ६८औं मिनेटमा आफिज वलावालेले गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा पनि सरस्वतीलाई दबाबमा राख्न सफल मनाङले त्यसपछि कुनै गोल गर्न सकेन र खेल २–० ले जित्यो । 

 

जितसँगै मनाङ अकं तालिकाको शीर्षस्थानमा बसेको छ । उसले ५ खेल जित्दै १५ अंक बनाएको छ ।  शुक्रबार थ्री स्टार विजयी हुँदै गोल अन्तरका आधारमा शीर्ष स्थानमा फर्किएको थियो । तर मनाङले पाँचौ चरणको खेलसम्म आफूलाई अपराजित राख्दै शीर्ष स्थानमा उक्लिएको हो ।

विशेष