News

निर्मला हत्या प्रकरणको पछिल्लो अनुसन्धान पनि शंकास्पद

निर्मला हत्या प्रकरणको पछिल्लो अनुसन्धान पनि शंकास्पद

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान जटिल मोडमा पुगेको छ ।

 

१३ वर्षीया निर्मलालाई बलात्कारपछि हत्या गरिएको पाँच महिना पुग्नै लाग्दा पनि प्रहरी हत्यारा नजिक पुग्न सकेको छैन ।

 

निर्मलाको शव भेटिएको स्थानबाटै प्रमाण नष्ट गर्न सक्रिय प्रहरीको अनुसन्धान निरन्तर विवादित बन्दै गएको छ ।

 

पछिल्लो पटक अनुसन्धान लागि हिरासतमा राखिएका दुई किशोर निर्मला बेपत्ता भएको बेला हिरासतमा रहेको खुलेपछि अनुसन्धान झनै जटिल बनेको हो ।

 

प्रहरी हिरासतमा रहेका भीमदत्तनगरकै दुई किशोर प्रदीप रावल र विशाल चौधरी साउन १० गते कुुखुरा चोरेको अभियोगमा पक्राउ परेको खुलेको छ ।

 

प्रहरीले नै साउन ९ गते भीमदत्त नगरपालिका–१८ भगतपुरस्थित कुखुरा पसलबाट चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिएको छ ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतका अनुसार प्रदीपलाई साउन १० गते बिहान ८ देखि १० बजेको समयमा पक्राउ गरी सोधपुपछि तत्कालै छाडिएको पाइएको छ ।

 

उनकै सूचनाका आधारमा कुखुरा चोरेको आरोपमा साउन १० गते साँझ विशाललाई पक्राउ गरी भोलिपल्ट छाडिएको रेकर्डमा देखिएको कडायतले बताए ।

 

‘बिहान प्रदीपलाई सामान्य सोधपुछ गरेर छोडिएको पाइएको छ,’ उनले भने, ‘विशाललाई भने त्यही दिन साँझ पक्राउ गरिएको खुल्न आएको छ ।’

 

कडायतका अनुसार कुखुरा चोरिएको भन्दै प्रहरीमा खबर गरेका भगतपुर निवासी पुनित चौधरी नआएपछि विशाललाई उनका बुबाको जिम्मा लगाएर छोडिएको हो । यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो । 

निर्मला पन्त हत्या प्रकरण

विशेष