सिक्लेसबाट ज्ञानेन्द्रलाई प्रचण्डको प्रश्नः होटलमा केको लागि नाचेको ?
कास्की । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरी एकपल्ट निरंकुशता सल्बलाउन लागेको संकेत गरेका छन् ।
कास्कीको सिक्लेसमा सोमबार शान्ति स्तम्भ अनावरण गर्दै उनले ढुक्क भएर बस्ने स्थिति नरहेको बताए ।
‘तराई मधेशमा एकथरी अहिले पनि विखण्डनको सपना देखेर त्यहाँका जनतालाई भड्काउने कोशिस गरिरहेका छन्,’ उनले भने, ‘अर्कोतिर अतिवाद पहाडमा फैलाउन सकिन्छ कि भनेर हिजो दरबारबाट निकालिएका शक्तिहरु तिनीहरुलाई मलजल गर्ने कोशिस गरी नै राखेका छन् ।’
परिवर्तन विरोधीले निरंकुशता उल्ट्याउन लगातार षड्यन्त्र गरिराख्ने भएकोले ढुक्क भएर बस्न सक्ने स्थितिमा पुगिनसकेको उनले जनाए ।
उनले भने, ‘अहिले भर्खरै आइहाल्यो भन्न लागेको होइन तर ठूल्ठूला क्रान्ति र परिवर्तन पछि र प्रतिक्रियावादी शक्तिहरुले आफूलाई फेरी एकचोटी ल्याउने जमर्को गर्छन् ।’
पत्नी सीता र छोरी गंगासहित सिक्लेस पुगेका दाहाल पुराना दिन सम्झेर भावुक बने । ‘निरंकुशताका ती दिनहरु बिर्सेका छैनौं, जसले सबै संसदवादी दलदेखि विद्रोही माओवादीसम्म सबैलाई एउटै हाडीमा राखेर भुटेर सिध्याउन खोजेका थिए,’ उनले भने, ‘ती निरंकुशका शासकहरुलाई बिर्सेका छैनौं । अहिले उनीहरु नाच्दै हिँडेका छन् रे होटल होटलमा, के को लागि नाचेका हुन् ?’
२०६३ असार २ मा राजधानीमा सार्वजनिक हुनुअघि सिक्लेसमा भेट भएका तत्कालीन वार्ता समितिका संयोजक कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँगै सिक्लेस पुगेका उनले गिरिजाको अभाव महशुस भएको बताए ।
शान्ति प्रक्रिया अगाडी बढाउन नेतृत्वदायी भूमिका खेल्ने गिरिजा र सिटौला नै भएपनि अहिले कांग्रेसका कैयौं नेता परिवर्तनप्रति नाखुस भएको उनको आरोप छ ।
‘यो संविधानप्रति उनीहरु खुसी छैनन्,’ उनले भने, ‘यो संविधानकाका विरुद्ध खुलेआम वक्तव्यहरु आउन थालेका छन् । यो के चिज हो ?’
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी, समानुपातिकता मध्ये कुनै एक असफल हुँदा फेरी अराजकता, अनिश्चय, भयानक निरंकुशताको खतरा आउँने उनले दोहोर्याए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।