कैलालीको पहिचान ‘निगालीको सुन्तला’
धनगढी । ‘लौ आयो हजुर, निगालीको सुन्तला, खानमा निकै स्वादिलो ।’ सुन्तला व्यापारी नरेन्द्र धामी सोमबार धनगढी बजारमा निगालीको सुन्तला बेच्न यसरी प्रचार प्रसार गरिरहेको भेटिए ।
सडक छेउमा निगालीको सुन्तला राखेर प्रचार भइरहेको सुनेका सुन्तलाका पारखीका लागि ‘ढुङ्गा खोज्दा देउता मिले’ झैँ भयो । कसैले एक किलो र कसैले दुई किलोका दरले उक्त सुन्तला खरीद गरे ।
कैलालीको पहाडी क्षेत्र निगालीमा उत्पादन हुँदै आएको सुन्तला निकै स्वादिलो हुने गरेका कारण सो क्षेत्र सुन्तला उत्पादनमा पहिचान बनाएको छ ।
“कैलाली जिल्लाको पहिचान नै निगालीमा उत्पादन हुने स्वादिलो सुन्तला हो”, उक्त सुन्तला खरीद गर्दै गरेका स्थानीबासी नवराज जोशीले भने ।
निगालीमा यस वर्ष समयमै वर्षा भएका कारण सुन्ताला उत्पादन वृद्धि भएको पाइएको व्यापारी धामीले बताए ।
“बगैँचामा यतिबेला सुन्तला थोकमा खरीद गर्ने व्यापारीको तानातान छ”, धामीले भने, “व्यापारीले पूरै बारीको ठेक्का बोलेर सुन्तला खरीद गर्ने गरेका छन् ।”
निगाली क्षेत्रमा यस वर्ष एउटै रूखमा पाँच क्विन्टलसम्म सुन्तला फलेको पाइएको अर्का व्यापारी मनोज धामीले बताए ।
अन्य क्षेत्रको सुन्तलाभन्दा निगालीको सुन्तलाको माग बजारमा बढ्दै गएको सुन्ताला व्यापारी बताउँछन् ।
सुन्तला उत्पादक स्थानीय कृषकका अनुसार यस वर्ष समयमै वर्षा भएकाले सुन्तला उत्पादन पनि वृद्धि भएको छ ।
यस वर्ष निगाली र आसपासका क्षेत्रमा १०० टनभन्दा बढी सुन्तला उत्पादन भएको छ । समयमै वर्षा नभएको वर्ष सुन्तलाको बोटका हाँगा पहेँलो भई सुक्ने र दानामा दाग लाग्ने रोगको समस्या देखिने देखिने गरेको बताइएको छ ।
चुरे गाउँपालिकाको निगालीसहित सहजपुर र खैराला क्षेत्रलाई सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छ । कृषि विकास कार्यालयले यस क्षेत्रका स्थानीय कृषकलाई विभिन्न प्राविधिक सहयोग पुर्याउँदै आएको छ ।
सुदूरपश्चिमका अन्य जिल्लामा उत्पादन हुने सुन्तलाभन्दा निगालीमा उत्पादन हुने सुन्तला निकै स्वादिलो हुने, दाना ठूलो र आकर्षक देखिने गरेको व्यापारीको भनाई छ ।
व्यापारी तथा उपभोक्ताबीच निगालीको सुन्तलाको माग बढ्दै गएसँगै सो क्षेत्रमा वर्षेनी सुन्तला खेतीको विस्तार पनि हुन थालेको छ ।
अहिले निगालीमा मात्रै व्यावसायिकरुपमा सुन्तला खेती गर्ने किसान दुई सयभन्दा बढी पुगिसकेको बताइएको छ ।