News

त्रिभुवन विश्वविद्यालयमा प्राइभेट परीक्षा नरोक्न माग

त्रिभुवन विश्वविद्यालयमा प्राइभेट परीक्षा नरोक्न माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा प्राइभेट परीक्षा नरोक्न विद्यार्थी संगठनहरूले माग गरेका छन् ।

 

त्रिविले सेमेस्टर सुरु गरेपछि प्राइभेट परीक्षाको व्यवस्थासमेत हटाउँदा विद्यार्थीको स्नातकोत्तर तह अध्ययन गर्ने इच्छाबाट वञ्चित हुनुपरेको भन्दै दुई विद्यार्थी संगठनले परीक्षाको पुनः व्यवस्था गर्न माग गरेका हुन् ।

 

नेकपानिकटका अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले सोमबार विभिन्न माग राखी त्रिविलाई ज्ञापनपत्र बुझाएका छन् ।

 

ज्ञापनपत्रमा अर्को विकल्प नहुँदासम्म स्नातकोत्तर तहमा प्राइभेट परीक्षाको व्यवस्था नहटाउन भनिएको छ ।

 

विद्यार्थी संगठनले त्रिविअन्तर्गतको प्राविधिक शिक्षाको शुल्क धेरै महँगो भएको र बर्सेनि मनपरी तरिकाले लाखौँ रुपैयाँ बढेको ज्ञापनपत्रमा उल्लेख छ ।

 

उनीहरूले इन्जिनियरिङतर्फको शुल्क निर्धारण गर्न बनाएको कार्यदलको निष्कर्ष तत्काल सार्वजनिक गर्नसमेत माग गरिएको छ । निर्धारित शुल्कभन्दा बढी लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्नसमेत उनीहरूले माग गरेका छन् ।

 

मेडिकल शिक्षामा पहुँच बढाउन महाराजगन्ज क्याम्पसमा पूर्वाधार तयार गरी सिट संख्या बढाउनसमेत त्रिवि पदाधिकारीको ध्यानाकर्षण गराइएको छ ।

 

त्रिविको सेमेस्टर र वार्षिक प्रणालीमा सञ्चालित कार्यक्रममा कम्तीमा २५ प्रतिशतलाई निःशुल्क शिक्षा लिने व्यवस्था गर्नुपर्ने, स्ववियु चुनावको मिति घोषणा गर्नुपर्नेलगायतका १७ वटा माग समावेश छ ।

 

मागपत्रमा नेकपानिकटका अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका कार्यबाहक अध्यक्ष रश्मी आचार्यले हस्ताक्षर गरी त्रिवि पदाधिकारीलाई बुझाएका हुन् । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

त्रिभुवन विश्वविद्यालय प्राइभेट परीक्षा

विशेष