News

योगीको सुरक्षार्थ ४ हजार प्रहरी परिचालन, ड्रोनको प्रयोगबाट पनि निगरानी

योगीको सुरक्षार्थ ४ हजार प्रहरी परिचालन, ड्रोनको प्रयोगबाट पनि निगरानी

जनकपुरधाम । भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाका लागि जनकपुरमा चार हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ।

 

सीता–राम विवाह पञ्चमी महोत्सवमा जन्तीका रूपमा बुधबार जनकपुर आउन लागेका योगीको सुरक्षाका लागि नेपाल प्रहरीका तीन हजार, सशस्त्र प्रहरीका एक हजार र राष्ट्रिय अनुसन्धान विभागका एक सय सुरक्षाकर्मी परिचालन गर्न लागिएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिए।

 

बुधबार बिहान उत्तर प्रदेशको राजधानी लखनउबाट योगी सिधै प्रदेश २ को राजधानी जनकपुर आइपुग्ने योजना छ।

 

सोहीअनुरूप जनकपुर विमानस्थल, जानकी मन्दिर, मधेस भवन र रंगभूमि मैदान (बाह्रबिघा) मा सुरक्षाको दृष्टिकोणले उच्च सतर्कता अपनाइएको प्रदेश प्रहरी प्रमुख पालले बताए।

 

जनकपुर विमानस्थलमा अवतरणपछि योगी सिधै जानकी मन्दिर पुगी पूजापाठ गर्नेछन्। त्यहाँबाट मधेस भवन (प्रदेश सरकारको सचिवालय) पुगेर बृहत् भण्डारामा सहभागी हुनेछन्।

 

प्रदेश सरकारले योगीको स्वागतमा उनीसँगै सम्पूर्ण साधुसन्तका लागि बृहत् भण्डारा (सात्विक भोज) को तयारी गरेको छ।

 

मधेस भवनमा केही क्षण बिताइसकेपछि रंगभूमि मैदानमा आयोजना हुने सीता–राम स्वयंवर समारोहमा उपस्थित हुने कार्यक्रम रहेको विवाह महोत्सव मूल समारोह समितिका अध्यक्ष रामरोशन दासले बताए।

 

स्वयंवरपछि रंगभूमि मैदानमै योगीलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको दासले बताए। प्रदेश सरकारका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत र भारत उत्तर प्रदेशका समकक्षी योगीसहितका विशिष्ट अतिथिहरूको उपस्थितिबीच राम–सीताको स्वयंवर समारोह सम्पन्न हुने दासले बताए।

 

योगी रंगभूमि मैदानबाट अपराह्न करिब ४ बजे सिधै जनकपुर विमानस्थलमा पुगेर स्वदेश फिर्ता हुने प्रदेश प्रहरी प्रमुख पालले जानकारी दिए। 


ड्रोनको प्रयोगबाट सुरक्षा निगरानी
जनकपुरमा योगीको उपस्थिति हुने प्रमुख क्षेत्रहरुको सुरक्षा निगरानीका लागि ड्रोन क्यामेरा परिचालन गर्न लागिएको प्रदेश प्रहरीका प्रमुख पालले बताए।

 

जानकी मन्दिर, मधेस भवन र रंगभूमि मैदानमा ‘रेपिड कम्युनिकेसन सिस्टम (आरसिएस)’ राखिने र उक्त सिस्टम तथा ड्रोन क्यामेराले निर्देशन गर्ने सुरक्षा व्यवस्थाको मोनिटरिङ प्रदेश प्रहरी कार्यालयबाट हुने व्यवस्था मिलाइँदै छ। यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 
 

जनकपुरधाम मुख्यमन्त्री योगी आदित्यनाथ

विशेष