News

संयमित भएर नयाँ युद्धको तयारीमा लाग्न अध्यक्ष बस्नेतको अपिल 

संयमित भएर नयाँ युद्धको तयारीमा लाग्न अध्यक्ष बस्नेतको अपिल 

काठमाडौं  । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ ले राज्यको दमनविरुद्ध धर्मयुद्धका लागि संयमित भएर एकाकार हुन आफ्ना कार्यकर्ता तथा शुभचिन्तकहरुमा अपिल गरेका छन् । 

 

प्रहरी नियन्त्रणबाट मुक्त भएपछि नेपालआजसँगको कुराकानीका क्रममा अध्यक्ष बस्नेतले धर्म, राष्ट्र र राजसंस्थाको रक्षाका लागि सम्पूर्ण न्यायप्रेमी जनताहरु गोलबन्द हुने बेला आएको बताए  । बस्नेतले भने, ‘क्रिष्चियनहरुको पृष्ठपोषक वर्तमान राज्यसत्ताले नेपालको बचेको सांस्कृतिक धरोहरहरु पनि नष्ट गर्न लागि परेको छ ।’

 

एसिया प्यासिफिक समिटको विरोधमा रहेका शिव सेना नेपालका अध्यक्ष बस्नेत र अन्य २५ जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको केही घण्टामै सबैलाई रिहा गरिएको थियो । बस्नेत भन्छन्, ‘शिवका सेनाहरुलाई पक्राउ गर्न कति गाह्रो रहेछ त्यो सरकारले बुझ्यो । पक्राउ पछि पनि तत्काल मुक्त गर्न  सरकार विवश भयो । यसकारण सरकार इसाईको गुलाम हुने होइन, अब शिव सेनाको रोडम्यापमा चल्नु पर्छ । यो बाहेक अर्को विकल्प पनि छैन ।’

 

युनिभर्सल पिस फाउन्डेसनको सहयोगमा नेपालमा जारी एसिया प्यासिफिक समिटमा १५ देशका विशिष्ट व्यक्तिहरुको सहभागीता रहेको छ । फाउन्डेसन क्रिष्चियन धर्म प्रचार र धर्मान्तरणका लागि विवादमा परेको संस्था हो । अध्यक्ष बस्नेत भन्छन्, ‘मुलुक धर्मनिरपेक्ष हुँदैमा के फरक पर्छ भन्ने प्रश्न गर्नेहरुले यतिबेला जवाफ पाएका छन् । संसारका कतिपय मुलुकमा यस्तो समिट हुन नै सकेको थिएन । देशका जनता रोग, शोक र भोकले पिल्सिरहेका छन् । तर सरकार एउटा विवादास्पद आइएनजिओले गरेको कार्यक्रमको सहआयोजक बन्ने र करोडौं रुपैयाँ सहयोग गर्ने काम गरिरहेको छ ।’

 

विश्वको एकमात्र हिन्दु राष्ट्रको पहिचान बनाएको नेपाललाई धर्मबाट अलग गरेर नेताहरुले इसाईहरुको क्रिडास्थल बनाएको बस्नेतको आरोप छ । उनले भने, ‘यो अधर्मी सरकारविरुद्ध अब एक धर्मयुद्ध गर्ने बेला आएको छ । धर्मको रक्षा र राष्ट्रको रक्षाका लागि सम्पूर्ण शिव सैनिक र आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा एकजुट हुन अपिल गर्दछु ।’

 

धर्म रक्षाका लागि सडकमा शान्तिपूर्ण प्रदर्शन गर्नेहरुलाई प्रहरीले पक्राउ गर्ने, धरपकड गर्ने कार्य जारी राखेको अध्यक्ष बस्नेतको दावी छ । मुलुकमा जघन्य अपराध गर्नेहरु खुलेआम हिँडिरहेको अवस्थामा सामान्य प्रदर्शन गर्नेहरुलाई पक्राउ गरेर राज्यले बहादुरी देखाउन खोजेको बस्नेतले जिकिर गरे । उनले भने, ‘व्यक्ति पक्राउ गर्न सरकारलाई यति धेरै रहर लागेको भए बालिका बलात्कार गर्नेलाई खोजेर पक्राउ गरे हुन्छ । सुन खाने तस्कर खोजेर समाते हुन्छ । अकुत सम्पत्ति आर्जन गर्ने भ्रष्टहरुलाई पक्राउ गरी कारबाही गरे हुन्छ । आफू पनि धर्म रक्षा गर्न नसक्ने, धर्मका लागि उभिनेहरुलाई पनि पक्राउ गरेर इसाईको गुलाम बन्ने सरकार अब जनताले सहने छैनन् ।’

 

शिव सेना नेपाल देशव्यापी आन्दोलनमा होमिने पनि अध्यक्ष बस्नेतले जानकारी दिए । मंसिर १ देखि वीरगञ्जबाट शिव सेनाको आन्दोलन शुरु भइसकेको उनले बताए । आउँदो सोमबार रुपन्देहीमा पनि शिव सेनाले आन्दोलन शुरु गर्दैछ ।  अब आन्दोलनको आँधीबेहरीले नै यो व्यवस्था बढारेर लैजाने अध्यक्ष बस्नेतले ठोकुवा गरेका छन् । कुनै पनि हालतमा यो वर्षभित्रैमा मुलुकमा नयाँ व्यवस्थाको सूत्रपात हुने उनले दावी गरे ।
 

विशेष