आज पनि संवैधानिक परिषद बैठक बस्ने
काठमाडौं । नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषदको बैठक मंगलबार पनि बस्दैछ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा विहान साढे ११ बजे बस्ने बैठकले प्रधानन्यायधीशका लागि न्याय परिषद्ले पठाएको नाममा थप छलफल गर्दै नियुक्ति सिफारिस गर्नेछ ।
यद्यपि सो सिफारिस संसदीय सुनुवाई समितिबाट अनुमोदन हुनु पर्नेछ ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले सो अगावै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद्को बैठक बोलाइएको हो ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केन्द्रीय समिति बैठकका कारण चाडै बाहिरिएपछि गत १७ गते बसेको परिषद् बैठक निष्कर्षमा पुग्न सकेको थिएन ।
बैठकमा नयाँ ८ वटा संवैधानिक आयोग गठन गर्ने विषयमा सामान्य छलफल भएको थियो । साविकका अख्तियार, लोकसेवा, निर्वाचन र मानव अधिकार आयोग बाहेक, संविधानले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाती आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोग रहने व्यवस्था गरेको छ ।