भारतीय नेताको जनकपुर मोहः दुई वर्षमा प्रमुख तीन भ्रमण
जनकपुरधाम । पछिल्लो दुई वर्षयता जनकपुरमा भारतका तर्फबाट तीनपटक प्रमुख भ्रमण हुँदैछ।
२०७३ कात्तिकमा राष्ट्रपति प्रणव मुखर्जीले जनकपुर भ्रमण गरेका थिए। एक वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीबाट सोझै जनकपुर उत्रिए।
मोदी आएको एक वर्ष नपुग्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बुधबार लखनउबाट जनकपुर आउँदैछन्।
मुलुक संघीयतामा गएपछि मधेसको राजधानी जनकपुर केन्द्रित भएर छिमेकी मुलुकबाट उच्चस्तरीय भ्रमण भइरहेपछि राजनीतिक वृत्तमा त्यसको चर्चाको हुन थालेको छ।
दुई वर्षभित्र प्रमुख तीनवटा भ्रमण हुनुको पछाडि भारतीय पक्षको के स्वार्थ होला ? उनीहरूको भ्रमणले मधेसको राजनीतिमा कस्तो असर पार्ला ? भन्ने प्रश्नहरू अनुत्तरित छन्।
मधेस मामिलामा कलम चलाउँदै आएका चन्द्रकिशोर भन्छन्, ‘पछिल्लो प्रमुख तीन भ्रमणले भारतको मधेसप्रति मोह बढेको भन्न मिल्दैन।
जनकपुरप्रति आस्था भने अवश्य हो।’ भारतमा भारतीय जनता पार्टी नेतृत्वको सरकार छ। भारतले नयाँ नेतृत्व चयन गर्न अगामी वर्ष चुनाव गर्दैछ।
उक्त चुनावमा भाजपाका पक्षमा सीमा जोडिएको बिहारको जनमत आकर्षण गर्न मोदी र योगीले जनकपुर भ्रमण गरेको हुन सक्ने उनको भनाई छ।
‘उत्तर प्रदेशमा राम मन्दिर निर्माण गर्ने मुद्दाले सिंगो भारतका हिन्दु मतदातालाई आकर्षित गरिरहेको हुन्छ। त्यो राम मन्दिर तत्कालै निर्माण हुने सम्भावना त छैन।
तर, राम मन्दिर निर्माण गर्ने चर्चा पाएको स्थान अयोध्या र जनकपुरको विशेष सांस्कृतिक सम्बन्ध छ।
जनकपुरप्रति उनीहरूको आस्थाले छिमेकी राज्यमा सोझै तथा अन्य राज्यमा बसोबास गर्ने हिन्दु मतदातालाई लोभ्याउन सकिने आशा भाजपा नेतृत्वको देखिन्छ’, चन्द्रकिशोरले नागरिकसँग भने, ‘विवाह पञ्चमी महोत्सवले योगीको भ्रमणले पाइरहेको चर्चा अगामी वर्षमा निरन्तरता पाउने–नपाउने चुनौती जनकपुरका लागि आफ्नो ठाउँमा छ।’ यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।
जनकपुर भारतीय नेता