४३ सय विपन्नलाई बिना धितो ऋण दिइने
काठमाडौं । विपन्न समुदायलाई उद्यमशील बनाउन ४३ सय कृषक एवं महिला उद्यमीलाई बिना धितो ऋण प्रवाह गरिने भएको छ ।
बेलायती सहयोग नियोग (युकेएड) सक्षम परियोजना, हेफर इन्टरनेशनल र माछापुच्छे बैंकबीच यससम्बन्धी सम्झौतापत्रमा मंगलबार हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा हेफरका राष्ट्रिय निर्देशक डा शुभनारायण महतो, युकेएड सक्षमका कार्यक्रम संयोजक निर्मल दाहाल र बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरे ।
देशका १४ जिल्लामा यो कार्यक्रम लागू हुनेछ । कार्यक्रम लागू हुने जिल्लाका महिला उद्यमी, कृषक तथा साना उद्यमीलाई बिना धितो सरलीकृत ऋण प्रदान गरिने बताइएको छ ।
यो कार्यक्रमसँगै किसान क्रेडिट कार्डसमेत शुरु हुने जनाइएको छ । कार्यक्रम अवधिभर छ हजारलाई वित्तीय साक्षरता दिइने बैंकले जनाएको छ ।
यसअघि नै कार्यक्रम शुरु भइसकेको दाङ लमही नगरपालिकाको कर्मठ सामाजिक उद्यमी महिला सहकारीका शेयर सदस्यद्वय नेत्र बस्नेत र गङ्गा घर्तीले बिना धितो वित्तीय संस्थाबाट ऋण पाएपछि सहज रुपमा उद्यम गरी स्वरोजगार हुन सकिएको अनुभव सुनाए ।
बिना धितो ऋण विपन्न समुदाय