News

आदित्यनाथको प्रतिवद्धताः रामले सीतालाई अयोध्या लगेको बाटो अब फोर लेन 

आदित्यनाथको प्रतिवद्धताः रामले सीतालाई अयोध्या लगेको बाटो अब फोर लेन 

जनकपुर । भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले रामजानकी राजमार्गले दुई देशबीच धार्मिक पर्यटनको बाटो खुल्ने बताएका छन् ।

 

रामले सीतालाई अयोध्या लैजाँदा प्रयोग गरेको यो बाटोलाई फोरलेन बनाउने काम सुरु भएको उनले जानकारी दिए । 

 


‘रामले सीतालाई जुन मार्गबाट अयोध्या लिएर गएका थिए, त्यसलाई फोर–लेन बनाउने काम सुरु भएको छ,’ राम–सीता विवाह महोत्सवमा बुधबार जन्ती बनेर जनकपुर आएका आदित्यनाथले भने, ‘त्यसको निर्माणपछि जनकपुरबाट ४ घण्टामै अयोध्या पुगिन्छ ।’

 

 

उनले पशुपति–काशी र जनकपुर–अयोध्यालाई जोड्ने योजनाअनुसार काम भइरहेको बताए । ‘रामजानकी राजमार्ग यात्राको सुगमताले मात्र होइन, पर्यटन विकासको सम्वाहक पनि बन्नेछ,’ उनले भने, ‘यसले सबैको जीवनमा खुसियाली ल्याउनेछ ।’

 

 

उनले जनकपुर, अयोध्या र बनारसलाई सिस्टर सिटी बनाउने योजना सुनाए । ‘अयोध्या आए, वो जनकपुर जाए । जो जनकपुर आए, वो अयोध्या जाए,’ धार्मिक यात्रा अभियान चलाउनुपर्नेमा जोड दिँदै उनले भने । उनले रामायण सर्किट र जनकपुर–जयनगर रेलमार्गले पनि धार्मिक पर्यटनलाई सहयोग पुग्ने बताए ।

 

आदित्यनाथले नेपाल–भारतबीच प्राचीन र गहिरो सम्बन्ध रहेको बताएका छन् । ‘नेपाल–भारतको सम्बन्ध प्राचीन र गहिरो छ,’ उनले भने, ‘हाम्रो सम्बन्ध मूल्यवान छ । धर्म–संस्कृतिले बाँधेको छ ।’

 

निजी विमानमा बिहान १०ः३० बजे जनकपुर उत्रिएका उनी दिनभर तीनवटा कार्यक्रममा सहभागी भएर अपराहन भारत फर्किए ।

 

उत्तर प्रदेशका मन्त्री आशुतोष टन्डन पनि सँगै आएका थिए । जानकी मन्दिरमा ३० मिनेट विशेष पूजाअर्चना गरेका आदित्यनाथले त्यहाँ ठूलो संख्यामा उपस्थित हिन्दु धर्मावलम्बीसँगै मन्दिरको परिक्रमासमेत गरेका थिए । उनी मन्दिर परिसर पुगेलगत्तै साधु–सन्तले ‘जय श्री राम’ को नारा लगाए ।

 

‘जय सीता मइया–जय श्रीराम’ भन्दै नेपाली भाषामै सम्बोधन थालेका आदित्यनाथले राम–सीताको सम्बन्धकै कारण दुई देशबीच सदियौंदेखि भाइचारा स्थापना भएको बताए ।

 

‘जनकपुर र अयोध्याको तीर्थाटन गर्ने सबैको अभिलाषा हुन्छ । मलाई पनि यहाँ आउँदा गौरव महसुस भइरहेको छ,’ उनले भने, ‘नेपाल–भारतको सांस्कृतिक सम्बन्धलाई उचाइमा पुर्‍याएको छ ।’

 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिरलाई नेपाल–भारतबीचको आदिकालीन सम्बन्ध–सेतुको संज्ञा दिँदै संघीय र प्रदेश सरकार यो सम्बन्ध अझ प्रगाढ बनाउन उन्मुख रहेको बताए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

मुख्यमन्त्री योगी आदित्यनाथ

विशेष