News

तुइन तान्दै बांगिए औंला !

तुइन तान्दै बांगिए औंला !

काठमाडौं । धादिङ चरौंदीका ९० वर्षीय सुकबहादुर चेपाङ ३० वर्षदेखि तुइनमा काम गर्दै आएका छन् ।

 

तुइनकै कमाइबाट अपांगता भएका एक छोराको पालनपोषण गर्दै आएका छन् । बाबुछोरा तुइनछेउमै रहेको पाटीमा बस्छन् ।

 

तुइनको घिर्नीले च्यापेर सुकबहादुरका हातका दशवटै औँला बांगिएका छन् । तैपनि, रोजगारीको सवाल भएकाले उनी पुल नबनोस् र तुइनमा काम गर्न पाइयोस् भन्नेमा छन् । पुल बने रोजगारी खोसिने उनको चिन्ता छ ।

 

हातले तुइन सार्दा बारम्बार फलामको टुक्राले काट्ने गरेको उनी बताउँछन् । ‘तुइनबाट खोला तर्दा फलामका टुक्राले धेरैपटक हात काटेको छ, जाडोमा त धेरै दुख्छ,’ उनले भने ।

 

पोहोर नै विस्थापित हुनुपर्ने तुइन अझै उस्तै

धादिङको चरौँदीस्थित साबिकको गाविस भवनसँगै रहेको तुइन अघिल्लो वर्ष नै विस्थापित गरिसक्नुपर्ने थियो । तर, एक वर्ष ढिला भइसक्दा पनि निर्माण कार्यले गति लिएको छैन ।

 

त्रिशूली नदीमाथि रहेको तुइनको दायाँ किनारा गोरखाको घ्याल्चोक र बायाँ किनारा धादिङमा पर्छ ।

 

तुइनको छेवैमा तरकारी संकलन केन्द्र छ । त्यहाँ घ्याल्चोकलगायत आसपासका किसान दैनिक तुइन तरेर तरकारी बिक्री गर्न आउने गर्छन् ।

 

तुइन विस्थापन गरी झोलुंगे पुल निर्माण गर्न २६ मंसिर ०७३ मा नयाँ बाटो मनी कन्स्ट्रक्सन जेभीसँग सम्झौता भएको थियो । १ करोड ८१ लाख रुपैयाँ (मूल्य अभिवृद्धि करबाहेक) मा निर्माण सम्झौता भएको पुल १५ असोज ०७४ मा सम्पन्न गर्ने लक्ष्य थियो । तर, हालसम्म बायाँ किनारामा झोलुंगे पुलको डोरी बाँध्ने जग निर्माणबाहेक अरू काम अघि बढेको छैन ।

 

सो पुलको साइट इन्जिनियर जनक न्यौपानेले ठेकेदारले समयमा काम नगर्दा निर्माण अघि बढ्न नसकेको बताए ।

 

उनले भने, ‘अहिले मैले त्यहाँको जागिर छाडिसकेँ, बाँकी कुरा थाहा भएन ।’ पुलको निर्माण जिम्मा स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) ले लिएको छ ।

 

विभागको झोलुंगे पुल महाशाखा प्रमुखकुमार थापाले निर्माण कम्पनीसँग छलफल गर्न लागेको बताए । उनले भने, ‘काम गर्न १–२ महिनाको समय दिन्छौँ, त्यस अवधिमा पनि कुनै काम नभए सम्झौता तोडेर नयाँ ढंगले अघि बढ्छौँ ।’

 

डोलिडारका प्रमुख डिभिजनल इन्जिनियर डा. हुमाकान्त मिश्रले ठेकेदारले २० प्रतिशत रकम पेस्कीबापत लगिसकेको बताए ।

 

‘सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार ठेकेदार कम्पनीले २० प्रतिशत रकम लगिसकेको छ, तर काम केही भएको छैन,’ उनले भने । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

तुइन

विशेष