News

लोकसेवाले १७ सय पदमा विज्ञापन गर्न नसक्ने

लोकसेवाले १७ सय पदमा विज्ञापन गर्न नसक्ने

काठमाडौ । लोकसेवा आयोगले प्रशासन, इन्जिनियरिङ, स्वास्थ्य गरी नौवटा सेवा समूहका झन्डै १७ सय पदमा विज्ञापन गर्न नसक्ने भएको छ ।

 

तर, बुधबार आंशिक रूपमा केही सेवा समूहको विज्ञापन हुने लोकसेवा आयोगले जानकारी दिएको छ ।

 

सरकारले ती सेवा समूहका पदमा माग संख्या नै नपठाएकाले लोकसेवाले बुधबार गर्ने विज्ञापनमा ती कुनै पनि सेवा समूहको विज्ञापन समावेश नहुने भएको हो ।

 

लोकसेवाको नियमित कार्यतालिका अनुसार गत असोजको अन्तिम बुधबार नै सबै सेवा समूहका शाखा अधिकृत, उपसचिव र सहसचिवको विज्ञापन गर्नुपथ्र्यो तर सरकारले दुई महिनासम्म विज्ञापन रोक्न आयोगलाई लिखित अनुरोध गरेपछि आयोगले त्यतिखेर सबै विज्ञापन रोकेको थियो ।

 

आयोगले मंसिरको अन्तिम बुधबार हाल सरकारी सेवामा रहेका १२ वटा सेवा समूहका गरी झन्डै २ हजार पदमा विज्ञापन हुने अनुमान गरेको थियो ।

 

विगतमा सबै सेवा समूहका २ हजार पदमा विज्ञापन भएकाले आयोगले अहिले पनि सोहीअनुसार तयारी गरेको आयोगका सूचना तथा प्रकाशन शाखाका अधिकृत नारायण पोख्रेलले जानकारी दिए ।

 

अधिकृत पोख्रेलले सरकारले नौवटा सेवा समूहका कुनै पनि पदमा माग नगरेकाले ती कुनै पनि पदको विज्ञापन गर्न नसकिएको अधिकृत पोख्रेलले वताए ।

 

पोख्रेलले बुधबार आंशिक रूपमा मात्रै विज्ञापन हुने जानकारी दिए । उनका अनुसार बुधबार न्याय सेवाअन्तर्गत न्याय समूह, कानुन समूह, सरकारी वकिल समूह, तथा लेखापरीक्षण र व्यवस्थापिका संसद् सेवामा शाखा अधिकृतदेखि सहसचिवको झन्डै ३ सय पदमा मात्रै विज्ञापन हुनेछ ।

 


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन प्रक्रिया सुरु भएकाले ठूलो संख्यामा कर्मचारी भर्ना रोक्न लोकसेवा आयोगलाई मौखिक आग्रह गरेको थियो ।

 

सामान्यले समायोजन सकिएपछि मात्रै प्रशासन, स्वास्थ्यलगायत अन्य नौवटा सेवा समूहका सबै पदहरूमा लोकसेवाको विज्ञापन हुने जानकारी दिएको छ । यो समाचार राजधानी दैनिकबाट लिइएको हो । 

लोकसेवा आयोग

विशेष