News

टनकपुर बाँध पूर्वपट्टिको सडक कालोपत्रे हुँदै

टनकपुर बाँध पूर्वपट्टिको सडक कालोपत्रे हुँदै

कञ्चनपुर । भीमदत्त नगरपालिकाले ब्रह्मदेव बजार जोड्ने टनकपुर बाँध पूर्वपट्टिको सडक कालोपत्रेका लागि लगत अनुमान तयार गरेको छ । 

 

यसअघि भारतले एकलौटी रूपमा नेपाली भूमि मिच्ने गरी ब्रह्मदेव बजारसम्मको सडक कालोपत्रे गर्न लागेको थियो । 

 

स्थानीय प्रशासनले नेपाली भूमिमा भारतलाई सडक बनाउन रोक लगाएपछि नगरपालिकाले आफ्नै लगानीमा कालोपत्रे गर्न लागेको हो । 

 

ब्रह्मदेव बजारसम्म जोड्ने बाँध पूर्वपट्टिको नेपाली भूमिको सडक आफ्नै लगानीमा बनाई कालोपत्रे गर्छौँ’ नगरप्रमुख सुरेन्द्र विष्टले भने, “कालोपत्रेका लागि लागत अनुमान तयार गरिएको छ, त्यसअनुसार बजेट व्यवस्था गरी कालोपत्रे शुरु गर्छौँ ।” 

 

उक्त सडक कालोपत्रेत्रका लागि रु ८० लाखको बजेटको लाग्ने अनुमान गरिएको उक्त नगरपालिकाका भौतिक पूर्वाधार तथा योजना शाखा प्रमुख तथा इञ्जिनीयर जयराज भट्टले जानकारी दिए । उनका अनुसार १३५ मिटर लम्बाइको सडक १२ मिटर चौडा हुनेछ । 

 

भारतले टनकपुर ब्यारेजदेखि ब्रह्मदेव बजारसम्म सडक कालोपत्रे गर्न लागेकामा स्थानीयवासीले प्रशासनलाई जानकारी दिएपछि तत्काल काममा रोक लगाउनुपरेको थियो । 

 

नगरप्रमुख विष्टले भारतीय पक्षले नेपाली भूमिमा गर्न लागेको कालोपत्रे रोक्नका लागि कञ्चनपुरका सङ्घीय र प्रदेश सांसदसहित तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, सुरक्षा अधिकारीसितले पहल गरेका थिए । 

 

हामी अर्काको भूमि मिच्दैनौं, आफ्नो एक इन्च पनि जमीन गुमाउँदैनौं, आफ्नो भूमिमा हामी आफैँ सडक कालोपत्रे गर्छौँ, भन्दै त्यो बेला भारतलाई सडक कालोपत्रे गर्न रोक लगायौं उनले भने, “अब नगरपालिकाले त्यहाँ यसलाई छिट्टै कालोपेत्र गर्छ ।” 

 

टनकपुर बाँधको पूर्वपट्टिको एफ्लेक्स बण्डमा ५७७ मिटर नेपाली भूमि प्रयोग गरिएको छ । बाँध बनाउने क्रममा सीमास्तम्भ हराएपछि सीमा विवाद बल्झिएको थियोे । 

 

सीमास्तम्भ नं ३ अहिलेसम्म गायब छ । त्यहीदेखि ब्रह्मदेव बजारसम्म नेपाली भूमि पर्छ । भारतले टनकपुरमा बाँध बनाउँदा सीमास्तम्भ गायब पारेको स्थानीयवासी बताउँछन् । 

टनकपुर बाँध सडक कालोपत्रे

विशेष