संविधान संशोधन हुन्छ : प्रचण्ड
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्दै अघि बढ्ने बताउनु भएको छ ।
सत्तारुढ राष्ट्रिय जनता पार्टी, नेपालले तत्काल संविधान संधोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहेका बेला प्रचण्डले संविधान संशोधन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले उत्पीडित वर्ग, जाति र समूदायको हक अधिकारलाई सुनिश्चित गर्न पनि परिमार्जन र संशोधनको प्रक्रियाबाट गुज्रिदै संविधानलाई पूर्णता दिनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।
बिहीबार काठमाडौंमा आयोजित ‘मुक्तिक डगर’ नामक पत्रिकाको बिमोचन गर्दै अध्यक्ष दाहालले उत्पीडित समूदाय र शहीदहरुको सपना पूरा गर्ने दिशामा शान्तिपूर्ण ढंगले संघर्ष गर्दै अघि बढ्न पनि सम्बन्धित पक्षलाई आह्वान गरे ।
अध्यक्ष दाहालले उपेक्षित समूदायको हक, अधिकार सुनिश्चित गराउन संविधानमा संशोधन र परिमार्जनको ठाउँ खुला रहेको दाबी गरे । त्यस अवसरमा अध्यक्ष दाहालले थारु समुदायको हक, अधिकार सुनिश्चित गर्न आफूले सक्दो पहल गर्ने आश्वासन पनि दिए ।