घुस मागेको आरोपमा कम्पनी रजिस्टारको कार्यालयका कर्मचारी पक्राउ
काठमाडौं । कम्पनी रजिष्टारको कार्यालय, त्रिपुरेश्वरका कम्प्युटर अपरेटर पक्राउ परेका छन् ।
घुस मागेको आरोपमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
उनले कम्पनीमा कायम रहन आएका शेयरधनीहरुको शेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा पुगेको अख्तियारको टोलीले आत्रेयलाई उनकै कार्यकक्षबाट पक्राउ गरेको अख्तियारका सह सचिव रामेश्वर दंगालले जानकारी दिएका छन् । अख्तियारले घुस मिलाउन बिचौलियाको काम गर्ने सरिता कार्कीलाई पनि पक्राउ गरेको छ । उनीहरुले ७ हजार घुस लिइसकेको अख्तियारको भनाइ छ ।