भेरी नदीमा तुइनबाटै तारिन्छ सवारी साधान
जाजरकोट । तुइनमा मानिस मात्र होइन सवारी साधन पनि जोखिम मोलेर नदी वारपार गर्छन् भन्दा अचम्म लाग्ला तर जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न ठाउँमा अहिले तुइनबाटै यातायातका साधन नदी वारपार गर्छन् ।
भर्खरै मात्र सडक सञ्जालले जोडिएको डोल्पामा सवारीसाधन तुइनकै भरमा आवत–जावत गर्दै आएका छन् ।
चट्टान नै चट्टानले बनेको कडा भूबनोटका कारण यो सडकखण्ड निर्माणमा पनि धेरै समय लागेको छ ।
अहिले ट्र्याक मात्र खोलिएको यो सडकमा सहजै सवारीसाधनमा यात्रा गर्न सक्ने अवस्था नभएको डोल्पावासी बताउँछन् ।
एक सय १८ किमी लम्बाइ रहेको यो सडकखण्डमा हिउँदयाममा मात्र यातायातका साधन सञ्चालन हुने गर्छ । विसं २०६५ मा निर्माण थालिएको यो सडकको विसं २०७५ कात्तिकमा मात्र ट्र्याक खुला गरिएको हो ।
जाजरकोट खण्डको रिम्ना–दल्लीसम्मको भूभाग हुँदै जाने कि रिम्ना–छेपारे वैरीताल हुँदै जाने भन्ने विषयमा विवाद हुँदा काम दुई वर्ष ढिला गरी काम शुरु भएको थियो ।
अन्तिममा जाजरकोटको रिम्ना हुँदै रुकुम पश्चिमको छेपारे, चिसापानीबाट जाजरकोटको वैरीताल जोडेर लैजाने सहमति भएपछि काम सञ्चालन भएको थियो ।
जाजरकोट सदरमुकामको जिरो प्वाइन्ट पासागाड–खलङ्गा र वासागाड–कालेगाउँ दोहोरो सडक निर्माण गर्नुका साथै पासागाड–खलङ्गा हुँदै कालेगाउँभन्दा पासागाड कालेगाउँ सडकखण्डको यात्रा गर्दा आधा घण्टा छिटो हुने भएकाले तल्लो सडक पनि निर्माण गरिएको थियो ।
जाजरकोट–डोल्पाको दुनैसम्म सडकको ट्र्याक खुला हुँदासम्म रुकुमको छेपारे, जाजरकोटको तल्लु, रुकुमको अनाह, जाजरकोट, रुकुम र डोल्पाको सङ्गमस्थल त्रिवेणी, डोल्पाको खदाङ, धाउनी, त्रिपुराकोटलगायत ठाउँमा ट्र्याक खुुला भए पनि पुल निर्माण गर्न बाँकी भएकाले त्यस्ता स्थानमा सवारी साधान बदलेर यात्रा गर्नु परेको यात्रुको गुनासो छ ।
तुइन सवारी साधान