झलकपुरबासी भन्छन्, ‘पानी छैन मोही पिउनुहोस्’
बझाङ । बझाङको बुंगल नगरपालिका-६ झलकपुरकी अनिता जाग्री असोजयता राम्रोसँग निदाउन पाएकी छैनन् ।
कतिबेला झिसमिसे उज्यालो होला र पानी लिन जाऊँला भन्ने चिन्ताले उनको निद्रा खल्बलिन्छ ।
‘बाहिर कुकुर–बिरालो हिंडे पनि उज्यालो भइसक्यो होला भनेर झसंग हुन्छु,’ उनले भनिन्, ‘कहिले त रातमा चारपाँच पटक निद्रा खुल्छ ।’
जब चराहरू चिर्बिर गर्न थाल्छन् । अनितामात्र होइन, झलकपुर गाउँ नै चनाखो हुन्छ । झिसमिसेमै हतारहतार गाग्री टिपेर गाउँबाट झन्डै आधा घण्टा टाढाको कुवामा पानी भर्ने प्रतिस्पर्धा चल्छ ।
‘कहिलेकाहीँ त म नै पहिला पुग्छु । कहिले त पनेरी (पानी भर्न जाने महिला) को लर्को लागिसकेको हुन्छ,’ उनले भनिन् ।
वर्षात छिटो सुरु भयो भने असार मध्यतिर गाउँ नजिकैका मुहान रसाउन थाल्छन् । तीन महिनाजति यो गाउँका बासिन्दालाई खानेपानी गाउँनजिकै उपलब्ध हुन्छ । जब बर्खा सकिन्छ । ढुक्कले निदाउने दिन पनि सकिन्छ । दुःखका दिन सुरु हुन्छ ।
कुवामा पानी भर्नेको संख्या बढी भयो भने भएको पानी सकिन्छ । अर्को गाग्रो पानी जम्मा हुन पन्ध्रबीस मिनेट कुर्नुपर्छ ।
‘कहिले त बिहान ४ बजे कुवामा पुगे पनि ९-१० बजेतिर मात्र पानी भर्ने पालो आउँछ,’ स्थानीय पुनी गुर्धामीले भनिन्, ‘पानी लिएर फर्कंदा खाना पकाउन ढिला हुन्छ । केटाकेटीको स्कुल पनि छुट्छ ।’ पानी भर्न अधिकांश विद्यार्थीको सातामा तीचार दिन स्कुल छुट्ने गरेको उनले बताइन् ।
खानेपानीको समस्याबारे वर्षौंदेखि विभिन्न निकायमा धाउँदा पनि कुनै सुनुवाइ नभएको यहाँका बासिन्दाको गुनासो छ ।
गाउँमा पानीको सहज उपलब्धता भइदिए आफूहरू वर्षौंदेखिको दुःखबाट मुक्त हुने उनीहरू बताउँछन् ।
यहाँको खानेपानी समस्या समाधानका लागि नगरपालिकाले प्रयास गरिरहेको बुंगल नगरपालिका ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका प्राविधिक शिव विष्टको भनाई छ ।
गाउँभन्दा माथि मुहान नभएकाले खानेपानी योजना निर्माणमा समस्या भएको उल्लेख गर्दै गाउँभन्दा ४५ मिनेट तल रहेको मुहानको पानीलाई सोलार लिफ्टिङ गरेर समस्या समाधानको पहल भइरहेको उनले बताए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
बझाङ झलकपुर