अर्को वर्ष चिनियाँ राष्ट्रपति नेपाल आउन सक्ने
काठमाडौं । नेपाल–चीन दुई पक्षीय परामर्श संयन्त्रको १२औं बैठक चीनको बेइजिङमा सम्पन्न भएको छ ।
सो बैठकमा यसअघि दुई देशबीच भएको सहमतिको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व विदेश मन्त्रालयका उपमन्त्री खोङ सुआनयौले गरेका थिए ।
सो अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको विषयमा समेत छलफल भएको बताइएको छ । सीको नेपाल भ्रमण गराउनका लागि सरकारले कसरत गरिरहेको छ ।
सन् २०१९ भित्र चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको सम्भावना विषयमा दुई पक्षबीच गहन छलफल भएको बताइएको छ ।
बैठक बिहीबार भएको थियो । सो बैठकमा नेपालका लागि प्रस्तावित चिनियाँ राजदूत होउ यान्छीको समेत सहभागिता रहेको थियो ।
बैठकमा उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने विषयमा छलफल भएको भए पनि भ्रमणको मितिको विषयमा भने अझै स्पष्ट हुन सकेको छैन ।
त्यसैगरी, मार्चमा चीनको हाइनान प्रान्तमा हुने पोआवो एसिया मञ्चमा नेपालबाट उच्चस्तरीय नेतृत्वको भ्रमणका लागि चिनियाँ पक्षले अनुरोध गरेका छन् ।
बैठकमा यसअघि दुई छिमेकी मुलुकबीच भएको सहमतिको कार्यान्वयनको समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो अवसरमा रेलमार्ग, सडकमार्गलगायत कनेक्टिभिटी, भौतिक पूर्वाधार निर्माण, व्यापार, लगानी तथा ऊर्जाको विषय दुई पक्षबीच फलदायी छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो १२औं बैठकमा नेपालले बेहोर्दै आएको व्यापार घाटा कम गर्ने विषयमा भएको र नेपाली उत्पादनलाई चीनमा पुर्याउने विषयमा समेत छलफल भएको थियो । बीआरआईका परियोजनाको विषयमा पनि कुरा उठेको बताइएको छ ।
चिनियाँ भ्रमणमा रहेको परराष्ट्र सचिव शंकरदास वैरागीले सो अवसरमा चीनका परराष्ट्रमन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ