News

राजाले देश हेरेर राजधर्म निभाए, स्वार्थीहरुले देशमा विदेशी नचाए– शिव सेना  

राजाले देश हेरेर राजधर्म निभाए, स्वार्थीहरुले देशमा विदेशी नचाए– शिव सेना  

काठमाडौं । शिव सेना नेपालले हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापनाको आन्दोलनलाई तेज बनाउन थालेको छ । चार जिल्लामा प्रदर्शन गरिसकेको शिव सेनाले शनिबार बारा जिल्लामा सशक्त प्रदर्शन गर्ने तयारी गरिरहेको छ । विभिन्न जिल्लामा हुने प्रदर्शनपछि वृहत जनप्रदर्शन भने काठमाडौंमा गर्ने तयारी भइरहेको शिव सेनाका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ले जानकारी दिएका छन् । 

 

हिन्दुुत्व र राजसंस्था पक्षधर शिव सेनाले राष्ट्र राष्ट्रियता र राजसंस्था स्थापनाका लागि विभिन्न खाले दबाबमुलक कार्यक्रम गर्दै आएको छ । 

 

शिब सेनाले मुलुक र जनताको हितको कामना गर्दै विभिन्न निकायमा अपिल गर्ने कार्यक्रम पनि जारी राखेको छ । नेपाल राष्ट्रको हितको कामना गर्दै भगवान श्री पशुपतिनाथबाट थालेको बिन्तिपत्र सम्बन्धी कार्यक्रम अन्तर्गत अहिले नेपाली जनतामा बिन्तीपत्र बुझाइरहेको छ । 

‘एक नेपाल, एक नीति–धर्म नीति’ भन्ने मुल नाराका साथ सञ्चालन भइरहेको बिन्तीपत्र अभियानमा भनिएको छ– राजा र जनताबीचको ऐतिहासिक सम्बन्ध विदेशीको इशारामा केही स्वार्थी समूहले धमिल्याउने कोशिस गरे । पुर्खाले आर्जेको राज्य, जनताप्रति उत्तरदायी भएर जनताको नासो जनतालाई नै हस्तान्तरण गरि श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहले राजधर्मको पालना गरिबक्सियो । राजाको त्याग र जनताप्रति गरेको सम्मानलाई स्वार्थीहरुको समूहले विदेशीको खेल मैदान बनाइदिए ।’

शिव सेनाले यसअघि पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि देशको अभिभारा ग्रहण गर्न आग्रह गर्दै बिन्तीपत्र बुझाएको थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरा भ्रमण सफल बनाउन शिव सेनाले पनि आफ्नो तयारी गरिरहेको छ । 
 

विशेष