प्रधानमन्त्रीका सल्लाहकार फेर्न नेकपाभित्र गम्भिर छलफल
काठमाडौं । सरकारले जनअपेक्षा एवं पार्टी घोषणापत्रअनुसार काम नगरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै असन्तुष्टि बढेको छ ।
आज (शनिबार) देखि सुरु हुने पार्टी स्थायी कमिटी बैठकमा असन्तुष्ट नेताले सो विषयमा गम्भीर छलफल गर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हुने तेस्रो स्थायी कमिटी बैठकमा सरकारका सारथी एवं सल्लाहकारबारे छलफल गर्दै परिवर्तन गर्नुपर्ने विषय उठ्नेछ ।
नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले सरकारले जनअपेक्षाका साथै पार्टी घोषणापत्रअनुसार काम गर्न नसकेको बताए ।
पार्टी एकता प्रक्रिया टुंगोमा नपुगेको र सरकार सञ्चालन पनि राम्रोसँग नभएको बताउँदै उनले बैठकमा गम्भीर छलफल हुनुपर्ने बताए ।
‘बैठक हुन्छ तर छलफल नै हुँदैन, गम्भीर छलफल हुनुपर्छ । बैठक नियमित हुनुपर्छ,’ साहले भने, ‘सरकारले जनअपेक्षा एवं पार्टी घोषणापत्रअनुसार काम गर्न नसकेकै हो, कार्यशैलीमा परिवर्तन ल्याउनैपर्ने हुन्छ ।’
पार्टी प्रदेश संगठन निर्माणको मापदण्ड तथा त्यसका कार्यबारे स्पष्ट गर्नुपर्ने माग उनले गरे । पार्टी एकता भएको सात महिना पुग्यो तर एकता प्रक्रिया टुंगोमा नपुगेकामा उनले नेतृत्वप्रति आक्रोश पोखेका छन् ।
नेकपा स्रोतका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार तथा केही मन्त्री हेरफेर गर्नुपर्ने माग बैठकमा उठ्नेछ ।
केही मन्त्री तथा सल्लाहकारका कारण नै जनअपेक्षा एवं पार्टी घोषणापत्रअनुसार काम हुन नसकेको असन्तुष्ट पक्षको भनाई रहेको छ ।
यसअघि पटक–पटक स्थायी कमिटीको बैठक बोलाइए पनि स्थगित हुँदै आएको छ । दुईपटक बैठक बस्दा राम्रोसँग छलफल नै नगरी बैठक बीचैमा स्थगित भएको आरोप नेताहरूले लगाउँदै आएका छन् ।
बैठकमा सरकारको समीक्षाका साथै पार्टी एकताको विषय पनि मुख्य एजेन्डा रहेको छ । सरकारको काम कारबाहीको समीक्षासहित नेताहरूले पार्टी एकताका विषयमा समेत छलफल गर्ने बताइएको छ ।
तत्कालीन एमाले र माओवादी केन्द्र बीच पार्टी एकताको घोषणा गर्दै गर्दा शीर्ष नेताहरूले तीन महिनाभित्रमा एकता प्रक्रिया टुंगो लगाउने घोषणा गरेका थिए ।
तर, सात महिना बित्दा समेत पोलिटब्युरो कमिटी, जिल्ला, क्षेत्र, स्थानीय तहका कमिटीका साथै जनवर्गीय संगठनको एकता टुंगो लाग्न सकेको छैन । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।