कञ्चनपुर चाउमिन काण्ड : दुई बालकको शव अझै उठेन
काठमाडौं। चाउमिन खाएपछि बिरामी परेर मृत्यु भएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ देखतभूलीका दुई बालकको शव अझै उठ्न सकेको छैन ।
शुक्रबार चाउमिन खाएपछि बिरामी भएका उनीहरुको सुनियोजित तरिकाले हत्या गरिएको भन्दै छिमेकी तथा आफन्तहरुले शव उठाउन नमानेको हुन् । मृत्यु हुनेमा १२ वर्षीय धन बहादुर सुनार र ८ वर्षीय टेक बहादुर रहेका छन् ।
अहिले उनीहरुको शव पोस्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। तर उनीहरुको अझै पोस्टमार्टम भएको छैन।
प्रहरीका अनुसार मृतक बालकका छिमेकी तथा आफन्तले दोषीमाथी कारबाहीको माग गर्दै अस्पताल परिसरमा प्रदर्शन गरिरहेका छन्।
बेलौरी स्थित मामाघर बिहेमा गएका समयमा ती बालकहरुलाई उनका ठुलोबुवा लछी सुनारले चाउमिन पकाएर खान दिएको प्रहरीले जनाएको छ।
स्थानीयको दवावपछि प्रहरीले मृतक बालकका ठुलोबुवा लछी र ठुलीआमा सिता सुनारलाई शनिबार साँझ झलारी प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनाका सम्वन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।