News

खुला ठाउँमा शौच गरेको फोटो खिच्न ड्रोन उडेपछि भागाभाग

खुला ठाउँमा शौच गरेको फोटो खिच्न ड्रोन उडेपछि भागाभाग

मोरङ । छिमेकी वडा खुला दिसामुक्त भइसके । कटहरी गाउँपालिकाका तीनवटा वडामा भने समस्या ज्युँका त्युँ रह्यो ।

 

वडा नम्बर २, ३ र ४ का कारण गाउँपालिका खुला दिसामुक्त बन्नबाट वञ्चित भयो ।


गाउँपालिकाले उपाय रच्न थाल्यो । पहिले खुला ठाउँमा शौच गर्न जाने पहिचान गर्ने अनि सम्मानसाथ सम्झाउने ।

 

छलफल गर्दै जाँदा ड्रोन क्यामेराको प्रयोगसमेत गरेर पहिचान गर्ने निधो भयो । जिल्ला प्रहरी कार्यालय मोरङले साथ दिने भयो ।

 

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शुक्रबार बिहान दुई घण्टा कटहरीको जुडीखोला किनारमा दिसा गर्न आउनेलाई ड्रोन क्यामेराले निगरानी गरे ।

 

क्यामेरा उडेको देखेर बिहानै खोलाकिनार शौच गर्न पुगेकाबीच भागाभाग भएको कटहरी–४ का वडाध्यक्ष मन्टुन शेखले बताए ।

 

‘प्रहरीले कटहरीलाई खुला दिसामुक्त अभियानमा सघाउ पुर्‍याउनका लागि शुक्रबार बिहान ५ देखि ७ बजेसम्ममा जुडीखोला क्षेत्रमा ड्रोन क्यामेराले निगरानी गरेको थियो,’ उनले भने ।

 

निगरानी सकिएपछि जिल्ला समन्वय समिति प्रमुख नरेश पोखरेल, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठलगायतका व्यक्तिहरूले खुला दिसामुक्तको ब्यानरसहित कटहरीको वडा ४ मा जनचेतनामूलक र्‍याली प्रदर्शनसमेत गरे ।

 

प्रमुख पोखरेलले सबैलाई घरघरमा शौचालय निर्माण गरेर प्रयोग गर्न आग्रह गरेका थिए ।

 

‘बाहिर खुला ठाउँमा शौच गर्दा व्यक्ति, परिवार, टोल, गाउँ, गाउँपालिका र अन्त्यमा जिल्लाकै बेइज्जत भइरहेको छ,’ उनले भने, ‘जिल्लामा खुला दिसामुक्त गाउँपालिका घोषणामा कटहरी गाउँपालिका पछि पर्दा बेइज्जती भइरहेको कुरा सबैलाई बुझ्नु आवश्यक छ ।’

 

ती वडाहरूका खुला ठाउँमा शौच गर्न बिहानै घरबाट पानी बोकेर हिँड्नेहरूलाई गाउँपालिकाले समातेर चियानास्ता खुवाएको छ । शौच गर्नैहरूलाई पनि समातेर फूलमाला, अबिर लगाइदिएर सम्मानसमेत गरेको छ ।

 

कटहरी गाउँपालिकामा खुला दिसामुक्त अभियानका सहयोगी संस्था मातृभूमि महिला समाज मोरङका शान्ता दाहालले दुई महिनादेखि प्रत्येक दिन बिहानै कटहरीस्थित गाउँ वरिपरि निगरानी गर्दै आएको बताइन् ।

 


९ हजार घरधुरी रहेको कटहरीमा अब शौचालय नबनेका करिब ३ सय घरमा निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कार्कीले बताए ।

 

उनले शौचालय बनाउने हैसियत नभएका विपन्न दलितलाई गाउँपालिकाले रिङ, पाइप, प्यान सिट र एक जना मिस्त्रीको ज्याला दिने गरेको बताए ।

 

उनले शौचालय निर्माणमा भएकाले ढिलाइले मंसिर २९ गते गाउँपालिकालाई खुला दिसामुक्त गर्ने निर्णय असफल भएको बताए ।

 

गाउँपालिकाका प्रमुख रामकुमार कामतले पुस पहिलो साताभित्र सम्पूर्ण घरमा शौचालय निर्माण सकेर खुला दिसामुक्त गाउँपालिका घोषणा गर्ने तयारी रहेको जानकारीसमेत दिए ।

 

जिल्लाका १७ स्थानीय तहमध्ये तीनवटा मात्रै खुला दिसामुक्त घोषणा हुन बाँकी रहेको उनले बताए ।

 

जिल्लास्थित १७ वटा स्थानीय तहमध्ये विराटनगर महानगरको वडा १८ र १९ तथा जहदा गाउँपालिकाको वडा २, ४ र ७ मा मात्रै केही घरधुरीमा शौचालय निर्माण गर्न बाँकी छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

ड्रोन खुला दिसामुक्त

विशेष