News

कंसाकारले बिचौलियाको सञ्जाल नै खडा गररे वाइडबडी किने

कंसाकारले बिचौलियाको सञ्जाल नै खडा गररे वाइडबडी किने

काठमाडौं। गत असार १४ गते बिहीबार नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी एयरबस ए३३० विमान काठमाडौंमा अवतरण गरेको  थियो  । यस्तै साउन १० गते बिहीबार नै निगमले दोस्रो वाइड बढी विमान भित्राएको थियो । 

 

नयाँ विमानलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र नेपाल वायु सेवा निगमका कर्मचारीहरूले स्वागत गरेका थिए। तर, स्वागत गरेको ४ महिनाको समय पनि बितेको छैन वाइबडी खरिद प्रक्रियालाई लिएर विवाद देखिएको छ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले निगमको नयाँ वाइड बडी जहाज खरीद प्रक्रियामा त्रुटि औंल्याएको छ ।

 


प्रमुख प्रतिपक्षी कांग्रेसले वाइड बडी जहाज खरिद प्रक्रियामा अनियमितता भएको भन्दै समितिमा छानबिन गर्न माग गरेको छ । यस्तै माग गर्नेमा प्रतिपक्ष मात्र नभएर अलि नरम तरिकामा सत्तापक्षले समेत वाइडबढी खरिद छानबिनको माग गरेका छन् । समितिको बैठकमा वाइडडी खरिद प्रक्रियालाई लाउडाकाण्ड सँग समेत दाँज्न थालिएको छ । 
 

लूटका शृंखला 

सेप्टेम्बर १९७२ मा ५० लाख अमेरिकी डलरमा नेपाल वायुसेवा निगमले बोइङ किन्यो । बोइङ चलेको ६ वर्षमा अमेरिकामा यस्तो पोल खुल्यो, जसले नेपालमा समेत तरंग ल्याइदियो । सन् १९७८ मा जहाज निर्माता कम्पनी बोइङले जहाज किनबेचमा अनुचित आर्थिक खेल भएको आरोपमा अमेरिकी अदालतमा बयान दियो ।

 

बयानमा कम्पनीले नेपालका निर्णयकर्तालाई बढी कमिसन दिनुपरेको खुलाएपछि यहाँसमेत छानबिन थालियो । २६ साउन ०३५ मा राष्ट्रिय पञ्चायत सदस्य ओमकारप्रसाद गौचनको अध्ययनमा यस प्रकरण बारे छानबिन गर्न तीन सदस्यीय समिति बन्यो । समितिले त्यसैको २८ माघमा प्रतिवेदन बुझायो । सरकारले थप छानबिन गरेर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रतिवेदन बुझाए  पनि त्यतिकै सेलायो । 

 

पञ्चायतकालमै अर्काे बोइङ–७२७–२०० खरिदमा अनिमियतता भएको प्रकरण बाहिरियो । सर्वाेच्च अदालतका न्यायधीश केशवप्रसाद अपाध्यायको अध्यक्षतामा गठित छानबिन आयोगले ‘सञ्चालक समितिले गर्नुपर्ने काममा तालुक कार्यालयल गहिरो चाख लिएर प्रत्यक्ष÷अप्रत्यक्ष वा छद्म तरिकाले निर्णय गरेको’ ठह¥यायो । यही प्रकरणमा १२ कात्तिक ०४० मा प्रयटनमन्त्री दीपक बोहराले पद गुमाए पनि कारबाहीबाट भने उन्मुक्ति दिइयो । 

 

शक्तिशाली एजेन्ट

०७० मंसिरमा चीनबाट २ वटा एमए –६० र ४ वटा वाई–१२ई जहाज ल्याउन ऋण तथा अनुदान सझौता भयो । दुवैको एक–एक जहाज अनुदानमा र बाँकी सहुलिया ऋणमा आएका हुन् । ट्विनअटरलाई विस्थापित गर्ने लक्ष्यसहित ल्याइएका विमानबाट मासिक ३८ करोड रुपैयाँ नोक्सान छ । अनुदानमा प्राप्त विमान उडाउँदै यसले नेपालको आवश्यकता पूरा नगर्ने प्रमाणित भएको थियो । उसको मेन्टेनेन्स सुविधासमेत राम्रो थिएन । तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले त यी विमान यही हालतमा ल्याउन नहुने भनेर मन्त्रालयमा पत्र नै पठाएका थिए । तर ती विमान नेपालले किन्यो । यसका एजेन्ट थिए, व्यापारी सुरज वैद्य । कमजोर पर्फमेन्सको जहाज ल्याउन भूमिका खेलेको वैद्यलाई पर्यटन वर्ष, २०२० को संयोजक बनायो, सरकारले । विमान खरिदका एजेन्ट कति शक्तिशाली छन् भन्ने यसले देखाउँछ ।

 

वाइडबडी खरिदमा समेत वैद्यले गुपचुप भूमिका खेले । लन्डनमा बस्ने नेपालीमूलका दीपक शर्मा,  वैद्य र निगमका महाप्रवन्धक सुगतरत्न कंसकारको योजना हो, वाइडबडी खरिद । स्मरणीय के छ भने निगमका महाप्रबन्धक कंसाकारले यसअघि एयरबसका ३२०–२०० सिरिजका २ जहाज कम्पनीबाट सोझै किनेका थिए । बिचौलियाको साङ्लो तोड्न सफल भएको भन्दै उनको प्रशंसा पनि भएको थियो । तर अहिले भने तिनै कंसाकारले बिचौलियाको सञ्जाल नै खडा गररे वाइडबडी किने ।

स्रोत: नेपाल,राष्ट्रिय साप्ताहिक

विशेष