News खेल

संकटा जितसँगै दोस्रो स्थानमा, जावलाखेल र सरस्वतीबीच बराबरी

संकटा जितसँगै दोस्रो स्थानमा, जावलाखेल र सरस्वतीबीच बराबरी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सोमबार भएको खेलमा संकटा क्लबले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराएको छ । खेल हलचोकस्थित एपीएफको खेल मैदानमा भएको हो । 

संकटाको जितमा इलोन म्याक्श्वेल, टाम्पी इर्नेस्ट र दिपेश आलेमगरले गोल गरे । यता, फ्रेन्ड्स क्लबका लागि भने प्रजिन तामाङले गोल गरेका थिए ।


खेलको २५ औं मिनेटमा संकटाका लागि म्याक्सवेलले गोल गर्दै खेलमा अग्रता लिए । सेड्रिकले पोष्ट नजिकबाट दिएको पासलाई म्याक्सवेलले गोलमा परिणत गरेका थिए ।  पहिलो हाफको अन्तिम समयमा फ्रेन्ड्सका पिजनले बराबरीमा गोल फर्काए । 


दोस्रो हाफको  ५४औं मिनेटमा हेडमार्फत् गोल गर्दै ताम्पीले संकटाको अग्रता २–१ मा पुर्याएका थिए । लगत्तैै ३ मिनेटपछि लक्ष्मण रुचालको पासमा दिपेशले गोल गर्दै संकटाको जित निश्चित पारे । फ्रेन्ड्सले गोलका लागि अवसर बनाए पनि त्यसको सदुपयोग गर्न सकेन र खेल हार्न पुग्यो ।


जितसँगै संकटा लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिग लिडर मनाङ मस्र्याङ्दी क्लबसँगको अंक बराबरी बनाएको संकटा हेड टु हेडमा पछि पर्दै दोस्रो स्थानमा रहेको हो ।

लिगको शीर्ष स्थानमा रहेको मनाङको आठ खेलबाट २४ अंक रहेको छ । त्यस्तै, लिगको दोस्रो स्थानमा रहेको संकटाको पनि २४ अंक नै रहेको छ । लिगको तेस्रो स्थानमा थ्रीस्टार र आर्मी चौथो स्थानमा रहेको छ ।

यता सोमबार नै भएको खेलमा सरस्वती र जावलाखेलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । खेल सातदोबाटोस्थित एन्फा कम्लेक्समा भएको हो ।

यो सँगै सरस्वती १० अंकका साथ नवौं स्थानमा रहँदा ८ अंकमा सीमित जावलाखेल दशौं स्थानमा छ । पुछारमा रहेको एनआरटीको खातामा १ अंकमात्र छ भने त्यसमाथि १३औं स्थानमा रहेको मछिन्द्रले ३ अंक जोडेको छ ।

विशेष